व्यापारीको कब्जामा तरकारीको भाउ

२९ कार्तिक २०७४

banner

काठमाडौँ । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ। जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ। औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन्।

मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका-५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे। उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे।

धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन्। संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन्। ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन्। किसानले ५० रुपैयाँ प्रतिकिलोमा बेचेको काउली कालिमाथीको थोक बजारमा मंगलबार बिहान ५ बजे ९० रुपैयाँ प्रतिकिलोमा काठमाडौंका साना बजार, पसल र ठेलागाढामा राखेर बिक्री गर्ने व्यवसायीले खरिद गरेका थिए।

थोकमा ९० रुपैयाँ पुगेको काउली कालिमाटीकै खुद्रा बजारमा बिहान ७ बजेबाट प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भएको थियो। कालिमाटीबाट टाढा रहेका उपभोक्ताले यो मूल्य पनि पाउँदैनन्। कालिमाटीबाट तरकारी लैजाने साना खुद्रा व्यापारीले ढुवानी खर्च, पसल भाँडा, ज्याला लगायत जोड्छन्। जसकारण उपभोक्ताको भान्सासम्म पुग्दा काउली झन् महगिन्छ। मंगलबार बिहान ९ बजे ललितपुरको भैंसेपाटीस्थित एक तरकारी पसलमा काउली १ सय ४० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गरेका छन्।

तरकारी कम आएको छैन
मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए। व्यापारील आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए। विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो । थोकमा प्रति ५ किलोका दरले सबै तरकारी उपलब्ध थिए। 

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले मागअनुसार आपूर्ती नहुँदा मूल्य बढेको भन्ने दाबी झुट भएको बताउँछन्। ‘व्यापारीले भनेको मूल्य हाल्छु भन्दा जुनसुकै तरकारी पनि पाइन्छ, कम मूल्यमा मात्र नपाइएको हो’ उनले भने।

थोक व्यापारीले मूल्य तोक्छन्
केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्यको अनुगमन गर्न पुगेको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका कर्मचारीले थोक व्यापारी भेला भई खुद्राका लागि मूल्य तोक्ने गरेको भेटाएको छ। ‘थोक व्यापारीले एक ठाउँमा भेला भई मूल्य तोक्ने र खुद्रामा पाउने गरेका अनुगमनबाट देखिएको छ’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »