काँग्रेस आमन्त्रित सदस्यमा विष्ट मनोनित

२९ कार्तिक २०७४

banner

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द विष्टलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। 

सभापति देउवाले नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई आज आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

विगत दुई दशकदेखि मुलुकको लोकतन्त्र र काँग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका विष्टलाई उहाँको योगदानको कदर गर्दै आमन्त्रित केन्द्रीय समितिमा मनोनयन गरिएको जनाइएको छ। 

गत साता मात्र विष्ट गृहजिल्ला डोटीबाट कैलाली, कंचनपुर हुँदै लगत्तै ओखलढुंगा र खोटांग पुगेर राजधानी फर्किएका थिए। सोमबार सभापति देउवाले बालुवाटारमा विष्टलाई आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारहरुको पक्षमा जनमत सिर्जना गर्न सक्रियतापूर्वक खट्न निर्देशन दिएपछि विष्ट चुनावी अभियानमा पुन विभिन्न जिल्लामा पुग्दै छन्। यस्तो अभियानमा पुग्नु पूर्व नै सभापति देउवाले विष्टलाई पार्टीको नेतृत्व तहमा जिम्मेवारी सुम्पिएका हुन्।

विगत दुई दशकदेखि अमेरिकामा बसेर नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न अनवरत क्रियाशील रहेका विष्टलाई अमेरिकाभित्र अत्यन्त शालीन र भद्र व्यक्तित्वको रुपमा चिनिन्छ। 

मिलनसार व्यक्तित्वका धनी विष्टले तत्कालीन राजाको निरंकुश शासन व्यवस्थाका विरुद्ध न्यूयोर्कस्थित राष्ट्र संघ र वासिंगटन डिसीस्थित ह्वाइट हाउस र क्यापिटल हिलमा भएको प्रदर्शन र लोकतन्त्रका पक्षमा विश्व जनमत जुटाउने अभियानको नेतृत्व गरेका थिए। पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विष्टको यही नेतृत्वदायी भूमिकाको कदर गर्दै जनसम्पर्क समितिलाई संगठित गर्न जिम्मेवारी दिएका थिए। 

विष्ट अमेरिकामा कांग्रेसको संगठनलाई विस्तार गर्ने संस्थापक नेतृत्वकर्ताको रुपमा चिनिन्छन्। विष्टकै पहलमा सुरु भएको जनसम्पर्क समिति, अमेरिका आज अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो र प्रभावशाली संगठनको रुपमा स्थापित छ। हाल अमेरिकामा समितिका २७ वटा च्याप्टर क्रियाशील छ भने अमेरिकी नेपाली डायस्पोराका अन्य सामाजिक संघ, संगठन र एनआरएन लगायतका संस्थामा पनि जनसम्पर्क समितिका सदस्यहरुको नेतृत्व रहेको छ। विष्टलाई सामाजिक रुपमा समेत अमेरिकाको नेपाली डायस्पोराले अत्यन्त भद्र र शालीन व्यक्तित्व भनि सम्मान गर्दछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »