शान्ति र समृद्धिकालागि कांग्रेसको  जित आवश्यकः कार्की

२९ कार्तिक २०७४

banner

काठमाडौं। नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ति र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदान गर्ने दाबी गरेका छन्।  रिपोर्टर्स क्लबले गरेका चुनावी बहसका क्रममा बोल्दै अर्थ मन्त्रीसमेत रहेका कार्कीले कांग्रेसको नेतृत्वमा अबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे। 

कांग्रेस पहिलो ठूलो दल बन्ने दाबी गर्दै सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका कार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागू गर्ने बताए। विगतमा संगठित हिंसा र द्वन्द्वको समयमा कांग्रेसले सरकार चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तिको बाटोमा लैजाने र संविधान निर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब संविधान कार्यान्वयन र विकासका लागि जनताले कांग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे। 

नारा र दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको कटाक्ष गरेका छन्। नेपालमा कम्युनिष्ट शासन आउने सम्भावना नरहेको जिकिर गर्दै उनले वाम गठबन्धनले साम्यवाद ल्याउने प्रयास भने गरेको आरोप लगाए। 

कार्कीले केही उम्मेदवारमाथि भएको आक्रमणको निन्दा गर्दै उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार रहेको बताए । बुढगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता रद्द गर्ने विषयमा सरकारभित्र कुनै विमति नरहेको कार्कीले स्पष्ट पारेका छन्। 

फरक प्रसङ्गमा अर्थमन्त्रीसमेत रहेका कार्कीले किसानले किन्ने ट्याक्टरमा यसअघिका अर्थमन्त्री कृष्ण बहादुर महराले भ्याट लागाएको आरोप लगाए । किसानलाई मर्का पर्ने गरी लगाइएको भ्याट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेबेलामा मात्र हटाउन  सकिने कार्कीको भनाइ छ ।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »