यःमरि पूर्णिमाको सांस्कृतिक महत्व

१७ मङ्सिर २०७४

banner

  • त्रिचन्द्र प्रतीक्षा

‘‘त्यःछिं त्यः बकछिं त्यः
लातापाता कुलिंचां जुसिं त्यः
यःमरि च्वामु उकी दुने हाकु
ब्यूम्ह ल्यासे मब्यूम्ह बुरिऽकुति’’

तिहारमा देउसी भैली गीत जस्तै यःमरि पूर्णिमाका दिन नेवार समूदायका युवायुवतीहरु उपर्युक्त गीत गाएर घरघर गएर यःमरि माग्ने चलन रहिआएको भए तापनि आजभोलि यस्तो चलन हराउँदै गएको छ ।

धान्य पूर्णिमालाई नेवारहरुले यःमरि पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सो दिन बेलुकीपख नेवार समुदायले देउसी भैलोजस्तै उल्लेखित गीत गाएर यःमरि माग्ने प्रचलन रहिआएको छ । यःमरि माग्ने प्रचलन यो दिनको एक महङ्खवपूर्ण सांस्कृतिक पक्ष हो । 

नेवारी भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरि’ भनेको रोटी वा मिठाई हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम यःमरि राखिएको संस्कृतिविद्हरु बताउँछन् । यःमरिलाई नै पञ्च तत्वको रुपमा पनि स्वीकार गरिन्छ । अग्नि, जल, वायु, आकाश र धरतीलाई पञ्च तत्व भनिन्छ । यःमरिभित्र धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिएको पाइन्छ । यःमरि पुन्हि वा यःमरि पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन् । आजकै दिनलाई सकिमना पुन्हि अर्थात् पिँडालु उसिन्ने पूर्णिमाका रुपमा पनि ज्यापुबाहेकका अन्य नेवार समुदायले मनाउने गर्दछन् । यस दिन पिँडालु, सख्खरखण्ड उसिनेर खाने गर्दछन् । यःमरि, पिँडालु खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता रहेको छ ।

यस दिन विभिन्न मठ–मन्दिरहरुमा मेला पनि लाग्ने गर्छ । त्यसमध्ये बनेपाको धनेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यो दिन धनेश्वर महादेवको शीरमा नयाँ चामल राखेर पूजा गरी अन्न, चामल दान दिएमा धनधान्यपूर्ण हुन्छ भन्ने भनाइ छ । पाटनको तःबहालस्थित मत्स्येन्द्रनाथ बहालको पूर्व ढोकाका बस्ने बलबल (बलभद्र) थसीखेलमा खेती शुभारम्भ गरेर अन्न फलाएर लोकलाई कल्याण गरेको दिनको स्मरणमा उनको शिलामूर्ति बनाइयो र त्यसै बेलादेखि पूजा प्रारम्भ गरियो । यःमरि राखेर ठूलो पूजा गर्ने भएको हुनाले यो दिन यहाँ मेला नै लाग्दछ । यस्तै, यःमरि पुन्हिमा ठेचोमा ब्रम्हायणी, महालक्ष्मी र बालकुमारी देव–देवीहरुको जात्रा हुन्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

यही यःमरि बारे ‘रत्नवदान बुद्धबचन’ मा उल्लेखित एकअर्को किंवदन्तीअनुसार पाञ्चाल गाउँमा (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन र सुशिला नामका दम्पती बस्दथे जो भगवान् विष्णुका परमभक्त र दयालु थिए । उनीहरुको दयालु स्वभावको परीक्षा लिन एक दिन धनधान्य र सम्वृद्धिका देवता कुबेर गरीब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रको घरमा पुगे । आफ्नो घरको दैलोमा एकजना दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा माग्न आएको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र ब्राह्मणरुपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको मीठो मीठो खानेकुराका परिकारहरु भरिपुर नअघाउन्जेल खुवाए । 

उनको सत्कारदेखि प्रसन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरिको गुण यःमरि पूर्णिमामा पूजाविधि र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मी (अन्नपूर्ण)को पूजा गरी यःमरि चढाउने विधि बताएर एउटा बिमिरो दिएर अन्तध्र्यान भए । त्यसै अनुसार सुचन्द्र दम्पतीले यःमरिको गणेश, लक्ष्मी, कुबेर अनि अन्य विभिन्न आकृतिका यःमरि बनाएर कुबेरले दिएको बिमिरो सहित धानको भकारीमा चढाएर चार दिनपछि दिनदिनै विधिपूर्वक पूजा गर्दा सो बिमिरो सुनको ढिक्का भएछ र यःमरि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति वृद्धि र सुख सम्वृद्धि बढ्दै गयो । 

त्यसैबेलादेखि आजपर्यन्त हरेक वर्ष फेरि फेरि कुबेर आउँछ भनेर यःमरि बनाएर विधिपूर्वक पूजा गर्दै आइरहको भनाइ रहेको पाइन्छ भने यःमरि चढाएको चार दिनमा झिकेर प्रसादको रुपमा छोरी, चेली तथा आफन्त बोलाएर यःमरि खुवाउने प्रचलन यद्यपि रहेको छ ।

ज्यापु संस्कृतिको महङ्खवपूर्ण मौलिक चाड यःमरि पूर्णिमा हो । ज्यापु जातिको इतिहास खोतल्ने हो भने उनीहरु नेपालको आदिवासी जनजाति हुन् । काठमाडौँ उपत्यकामा नेवार समुदायभित्र करिब ५० प्रतिशत जनसंख्या ज्यापुहरुको रहेको पाइन्छ । ज्यापु संस्कृति आफैमा एक सम्पन्न र विशिष्ट संस्कृतिको रुपमा रहेको छ । नेवार समुदायभित्र आफ्नो अलग्गै परम्परा र पहिचानको संरक्षणमा ज्यापु समुदायको नाम अग्रस्थानमा आउँछ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »