एउटाले जन्ती लिएर आए, अर्कैसँग बेहुलीको विवाह, टुलुटुलु हेरिरहे बेहुलाले 

२० मङ्सिर २०७४

banner

फिल्ममा देखिने नाटकीय शैलीको विवाह वास्तविकतामा पनि देखिएको छ । जन्ती लिएर विवाह गर्न आएका बेहुलाले मण्डपबाहिर बसेर हेरिरहँदा त्यही मण्डपमा बेहुलीको अर्कै युवकसँग विवाह गरिएको छ । जन्ती लिएर आएका बेहुलाले मण्डपबाहिर बसेर टुलुटुलु बिहे भएको हेरेका छन् । विवाहको बीचमा बेहुला र बेहुली पक्षबीच विवाद भएपछि यस्तो नाटकीय घटना भएको हो । 

सुरुमा बेहुला परम्परागत रुपमै जन्ती लिएर बेहुलीकहाँ पुगेका थिए । जयमालाको कार्यक्रम सकिइसकेको थियो । तर ७ फेरा लिने बेलासम्म बेहुला र बेहुली पक्षबीच यतिसम्म विवाद भयो कि बेहुली पक्षले विवाह अस्वीकार गर्दै जन्ती फर्काइदिए । तर, आफ्नो भविष्य बिग्रिने आशंकाले बेहुली रुन थालिन् । त्यसपछि उनका परिवारले अर्का युवकलाई खोजेर विवाहको लागि तयार गरे । तत्कालै रेडिमेड कपडा किनियो र तिनै युवकसँग बेहुलीको विवाह गरियो । पहिलो विवाहको तयारी, बीचमा विवाद, अर्को बेहुलाको खोजी र अर्को बेहुलासँग विवाह गर्ने सबै नाटकीय घटनाक्रम मात्रै १८ घण्टामा सकियो । 

विचित्र देश जहाँ महिलालाई कपडा लगाउन समेत प्रतिबन्ध लगाइन्छ  (भिडियो हेर्नुहोस)

भारतको ग्वालियर शहरको निंबाजीका कल्याण परिहारकी छोरी पिंकीको १ वर्ष पहिले शहरकै नारायण विहारका किशन परिहारसँग तय भएको थियो । अस्ति सोमबार साँझ किशनको जन्ती बेहुली पिंकीको घर विवाहका लागि पुग्यो । पिंकीका परिवारले जन्तीको स्वागत सत्कार गरे । जयमालाको कार्यक्रम पनि भयो । राती १ बजे ७ फेराको साइत थियो । फेराको समयमा स्टेजबाट बेहुली पिंकीका मामा कल्लुले बेहुलीलाई फेराका लागि लिएर जाँदै थिए यत्तिकैमा बेहुला किशनका दाजु मनोजले उनलाई रोकेर स्टेजमै आफूले आशीर्वाद दिँदै पोज पोजमा फोटो खिचाउन थाले। कल्लुले फेराको समय भइसकेकोले यसरी नरोक्न भने । यही कुरामा विवाद सुरु भयो । 

अर्कोतर्फ बेहुलीका परिवारका अनुसार बेहुला खोच्याउँदै हिँडेका थिए र एकपटक लडेका समेत थिए । बेहुला अपांग भएकोजस्तो देखिएको र यो कुरा आफूहरुसँग अहिलेसम्म लुकाइएको भन्दै बेहुली पक्ष अझ रुष्ट भए । कल्लुका अनुसार बेहुला किशनका दाजु मनोजले हातपात गरेका थिए । हातपातको झगडा र बेहुलाको वास्तविकता लुकाइएको बेहुली पक्षको आरोपका बीच विवाद प्रहरीसम्म पुग्यो । प्रहरी आएपछि बेहुली पक्षले विवाह गर्नै अस्वीकार गरे । 

बिहे अस्वीकार भएपछि बेहुली रोएर विलाप गर्न थालिन् । लगत्तै मामा कल्लुकी छोरीको घरनजिकैका एक युवकसँग यसबारे कुरा गरियो । ती युवक बिहेका लागि राजी पनि भए । उनका लागि आउँदाआउँदै नयाँ कपडा, सुट किनेर उनलाई ग्वालियर ल्याइयो । यसरी ल्याइएका नयाँ बेहुलासँग पिंकीको विवाह गरियो । यो क्रममा पहिलेका बेहुला किशनले पिंकीको अर्को बेहुलासँग विवाह भएको त्यहीँ बसेर हेरेका थिए । बेहुली पिंकीले आफ्ना परिवारले आफ्नो भविष्य बचाइदिएको प्रतिक्रिया दिएकी छिन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »