सौभाग्यवती भव:

२१ मङ्सिर २०७४

शुभेच्छा उपाध्याय न्यौपाने

रहर त मेरो चौरासी मनाउनु छ, 
तिमीकहाँ आउने आपत ढाडमा बोकी,
तिम्रो बाटो सजिलो बनाउनुछ
तर म अकालमै गैगए, नयाँ साथी तिमी खोज्नु ल
मेरो पाइला केलाउँदै, 
मलाई पछ्याउने प्रयत्न नगर्नु ल
म अर्को जुनी नलिइ, 
परमात्मालाई फकाई, 
तिमीलाई कुर्दै बसौंला काम सकेर आउनु,
अनि हामी फेरि भेटौँला
जति जति जन्म लिएपनि तिमी ममा अनि, म तिमीमा
हामी संगै बाँचौंला

म भोको बस्दैमा
नहोला तिम्रो आयु लामो
मेरो आराधनाले नपार्ला तिम्रो स्वास्थ चिरायु
मेरो दियोको बत्ती चम्किँदैमा
छैन जरुरी हुन तिम्रो उत्तरउत्तर प्रगति
तर यदि एक प्रतिशत पनि यो कुरा साचो रहेछ भने !
अन्योल भुमरीमा अल्झेको यो कथा कतै सत्य सबित भईदिए !
म मेरो पाइला कसरी रोकौंला !
म मेरो मनलाई कसरी बुझाउँला !
बरु म भोकै बसौंला, 
तिमीलाई सम्झेर ध्यानमा डुबौंला

बाजा बजाएर श्रृंगारमा झपक्क भित्रायौ जसरी,
जीवनमुक्त बिदा पनि, गर्नु नि त्यसरी
नसुहाए पनि, चाउरिएको घाँटीमा पोतेको डोरा,
सुकेको हातमा छमछमाउदा चुरा,
अनि, खुम्चेको निधारमा टिका टाँस्न नभुल्नु, 
फुस्रो सिन्दुर म जोगाएर राख्छु
एक पल्ट फेरि मेरो सिउँदो सजाइ दिनु
भाग्यमनी भएर पुग्दैन मलाई अब,
तिम्रो पाउ छुँदा नछुटाइ भन्नु,
अटल सौभाग्यवती भव:

Leave a reply

HTML Tags are not supported

Post My Comment »