भारतीय सेनाप्रमुखको नेपाल भ्रमण : दुई देशबीचको सम्बन्ध सुधारमा सकारात्मक हुने अपेक्षा

डिसी नेपाल
१४ कार्तिक २०७७ १५:१६

काठमाडौं। भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि कात्तिक १९ गते बुधबार काठमाडौं आउँदैछन्। नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आइरहेका बेला भारतीय सेनाध्यक्षको नेपाल भ्रमण हुनुलाई विज्ञहरुले सकारात्मक भनेका छन्।

यो भ्रमण दुई देशबीचको सम्बन्ध सुधार गर्न सकरात्मक भूमिका निर्वाह गर्न सकारात्मक हुने उनीहरुको भनाइ छ।   भारतीय सेना प्रमुखको नेपाल भ्रमण पूर्व निर्धारित भएकाले यो विषयमा धेरै विवाद गर्न आवश्यक नभएको बताउँछन् भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय।

‘नेपालको सेनापति भारतको र भारतको सेनापति नेपालको मानार्थ सेनापति हुने परम्परा छ, त्यही परम्परा अनुसार सम्मान दिन भारतीय सेना प्रमुख नेपाल आउन लागेका हुन्,’ पूर्व राजदूत उपाध्यायले डिसी नेपालसँग भने, ‘अहिले भ्रमण गर्ने समय उपयुक्त होकि होइन त्यो आफ्नो ठाउँमा छ। तर यो पूर्व निर्धारित कार्यक्रम भएकाले यो विषयमा धेरै टिप्पणी गर्नु उचित हुँदैन।’

पूर्व राजदूत उपाध्यायले कतिपयले सेना प्रमुखसँग सीमा विवादका विषयमा पनि छलफल हुने गरेको आफूले सुनेको उल्लेख गर्दै त्यो नेपालीको हीनतावोध र लघुताभाष मात्र भएको टिप्पणी गरे।

‘सबैभन्दा पहिला कुटनीतिक र राजनीतिक तहमा वार्ता गर्नुपर्छ,’ उपाध्यायले भने, ‘नेपालले भारतमा मन्त्रीस्तरीय राजदूत पठाएको छ, भारतले पनि नेपालमा प्रधानमन्त्री मोदीका नजिकका विश्वासपात्रलाई राजदूत बनाएर पठाएको छ। उहाँहरुमार्फत कुटनीतिक रुपमा र त्यो हुन नसके राजनीतिक रुपमा वार्ता र संवाद गर्नुपर्ने हो। अहिले सेनापति आउँदा सीमा विवादका विषयमा पनि संवाद हुन्छ भनेको सुन्छु, यो नेपालीको लघुताभाष मात्र हो।’

अहिले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको छ, भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशबीच सम्बन्ध सुधार गर्ने दिशामा सकारात्मक भूमिका निर्वाह गर्न सक्छ, तर सीमा विवादलगायतका विषयमा यो भ्रमण फलदायी हुँदैन। सीमा विवादलगायतका विषय कुटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्नुपर्छ।

उनले भारतीय सेनाध्यक्षको नेपाल भ्रमण पूर्वनिर्धारित भएपनि सरकारको अनुमति विना संभव नहुने भन्दै प्रधानमन्त्री ओलीले पहिला राजनीतिक वा कुटनीतिक रुमपा छलफल गरेपछि मात्रै भ्रमणको मिति तय गरौं भनेको भए राम्रो सन्देश जाने बताए।

‘सीमा विवादमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनु ऐतिहासिक भएपनि अहिले त्यो जग हल्लिएको छ,’ उनले भने, ‘रअ प्रमुख आएर प्रधानमन्त्रीसँग भेटेर गए। त्यो विषयमा प्रधानमन्त्रीले अहिलेसम्म केही बोल्नु भएको छैन। मिडियामा चर्को विवाद भएपनि प्रधानमन्त्री निकटका मानिसले सामाजिक संजालमा खेलेका छन्। भारतले अहिलेसम्म दूत पठाएको भनेको छैन। सरकारका मान्छेले भारतले दूत पठाएको भनेका छन्। राजनीतिक मान्छे पठाएको भए विश्वास गर्न सकिन्थ्यो। खुफियाका मान्छे पठाएर कसरी दूत भनेर विश्वास गर्ने?’

यद्यपी सैन्य कुटनीतिक मार्फत पनि कतिपय विवाद समाधान गर्न सकिने उनको भनाइ थियो।

तत्कालीन राजा वीरेन्द्रका संवाद सचिव रहेका चिरन शमशेर थापा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार गर्न महत्वपूर्ण हुने बताउँछन्।

‘अहिले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको छ, भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशबीच सम्बन्ध सुधार गर्ने दिशामा सकारात्मक भूमिका निर्वाह गर्न सक्छ,’ थापाले डिसी नेपालसँग भने, ‘तर सीमा विवादलगायतका विषयमा यो भ्रमण फलदायी हुँदैन। सीमा विवादलगायतका विषय कुटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्नुपर्छ।’

नेपाल भारतबीच केही समयदेखि सीमा विवाद हुँदै आइरहेको र सीमा विवादकै कारण संवादहीनताको अवस्थामा भारतीय सेनाध्यक्षको नेपाल भ्रमण हुनु सकारात्मक भएको बताउँछन् राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले।

‘नेपाल र भारतबीच संवादहीनता र आरोप प्रत्यारोप भइरहेका बेला भारतीय सेनाप्रमुखको नेपाल भ्रमण हुनु सकारात्मक हो,’ राजनीतिक विश्लेषक वाग्लेले डिसी नेपालसँग भने, ‘सीमा विवादका विषयमा विवादस्पद अभिव्यक्ति दुवै पक्षले दिइरहेका बेला भरतले नेपालसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत देखिन्छ।’

भारतले मिचेको नेपाली भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि उक्त भूमि दुवै पक्षले दाबी गर्दै आएका छन्। सोही विषयलाई लिएर नेपाल र भारतबीच अहिले झण्डै संवादहीनताको स्थिति छ। यस्तो अवस्थामा भारतीय सेनाप्रमुखको भ्रमणले संवादहीनता अन्त्य गर्दै वार्ता र संवादमार्फत समस्या समाधान गर्ने बाटो खोलेको छ। तर भारतीय सेना अध्यक्षको भ्रमणले सीमा समस्या समाधानका लागि भने राजनीति र कुटनीति लेभलमा संवाद हुनुपर्ने राजनीतिक विश्लेषक वाग्ले बताउँछन्।

‘संवादहीनताको स्थिति अन्त्य गर्दै भारतीय सेनाप्रमुख नेपाल आउनु नेपाल र भारतबीच सम्बन्ध सुधारका दृष्टिकोणले सकारात्मक विषय हो,’ उनले भने, ‘नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति रुपमा अति निकट छ। नेपालको प्रधानसेनापति भारतको र भारतको प्रधानसेनापति नेपालको मानार्थ प्रधानसेनापति हुने चलन विश्वका अन्य मुलुकमा छैन। दुवै देशका सेनाको राष्ट्रिय सुरक्षा र अखण्डता दुवै मुलुको क्षेत्राधिकार पनि हो। तर पनि सेनालाई यस्तो बेला राजनीतिक संवाद गर्ने अधिकार दिन सक्दैनन्। भारतीय सेनाप्रमुखले भारतीय प्रधानमन्त्रीको दृष्टिकोण हाम्रा प्रधानमन्त्री र नेपाली सेनालाई दिनसक्छन्। उनी सन्देश वाहक हुन सक्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *