कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका ल्याउनेबारे सहमति जुट्न सकेन

डिसी नेपाल
२८ साउन २०७८ २२:१८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आजको बैठकमा तीन वटा प्रस्ताव पेश भएका छन् ।

बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, रमेश लेखक, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका छन् । त्यस्तै केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पेश गरेका छन् ।

क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते प्रतिवेदन पार्टी सभापतिलाई बुझाएको थियो । विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई दिएको थियो ।

कांग्रेसको भदौ १६–१९ का लागि तय भएको महाधिवेशन क्रियाशील सदस्यता नटुंगिएका कारण अनिश्चित बनेको छ । महाधिवेशनको नयाँ कार्यतालिका ल्याउनेबारे शीर्ष नेताहरुबीच निरन्तर संवाद भएपनि सहमति जुट्न सकेको छैन । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलिविहान ११ बजे सभापतिको निजी निवास, वुढानिलकण्ठमा पुनः बस्ने भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *