मिडियाको दबाबले मन्त्री बनें : डोबाटे विश्वकर्मा

डिसी नेपाल
२६ असोज २०७८ १३:४५

पोखरा । गण्डकीमा ६० सांसद छन्। संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ। डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ। यहाँ कोटा मात्रै पुगेन, मन्त्री मण्डलमा रेकर्ड कायम भयो। अघिल्लो सरकार हुँदा ७ जना मात्रै मन्त्रि थिए। एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर ११ पुर्‍यायो। ७ बाट ८ सदस्यीय मन्त्रीमण्डल बन्यो। अन्तिम समयमा फुटाईएको मन्त्रालयमा मन्त्रि पनि नियुक्त गर्न नपाउँदै सरकार ढल्यो र गठबन्धनको सरकार बन्यो।

कांग्रेस नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको समर्थन छ। जसपा र माओवादी सरकारमै सहभागी छ। स्वतन्त्र सांसद राजीव गुरुङ पनि मन्त्री पद सुनिश्चित गर्दै अघिल्लो सरकारको समर्थन छोडेर नयाँ गठबन्धनमा लागे। यहाँ झिनो बहुमत (३१ मात्रै) बाट सरकार बनेको हो।

अहिले एमाले मात्रै विपक्षमा छ। एमालेसँग २७ सांसद छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई सोमबार विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्। उनले सोमबार साँझ नै सपथ लिईसकेका छन्। दशैं लगत्तै मन्त्रीहरुको कार्यविभाजन पनि हेरफेर हुने बताईएको छ। डोबाटे साउन ८ मै मन्त्री बन्ने चर्चा थियो। अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीमा परेन।

त्यसपछि सञ्चार माध्यमहरुले संविधान र समावेशी सिद्धान्तको विरुद्ध सरकार गएको भन्दै आलोचना गरे। सरोकारवालाको चासो पनि मन्त्री परिषद् विस्तारमा गयो। चौतर्फी दवाव पछि नेपालीले डोबाटेलाई मन्त्री बनाएका हुन्। उनी कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा गनिन्छन्। तर प्रदेशसभामा सभापति शेरबहादुर देउवाको प्यानल बलियो छ। मुख्यमन्त्री पौडेल समूहबाटै भएपनि आन्तरिक दवावका कारण उनले डोबाटेलाई मन्त्री बनाउन सकेका थिएनन्।

अहिले सत्तारुढ गठबन्धनसँग पनि सल्लाह नै नगरी उनले मन्त्रीमा नियुक्त गरिदिए। प्रश्तुत छ मन्त्री नियुक्त भएपछि डोबाटेसँग गरिएको संक्षिप्त कुराकानीः

मन्त्री त बन्नुभयो, जिम्मेवारी के हो?

मन्त्रालयको टुंगो छैन । सपथ खाएँ । अब संविधानले जे भनेको छ, मुख्यमन्त्री ज्युले जे जिम्मेवारी दिनुहुन्छ। त्यहि पुरा गर्छु। संविधानले दिएको अधिकारकै अधिनमा रहेर प्रदेशलाई समृद्ध बनाउन भुमिका खेल्छु।

दुई महिनाअघि मन्त्री बन्नबाट बन्चित हुनुभयो । तपाईंको नाम अन्तिममा काटियो, अहिले कसरी मन्त्री बन्नुभयो ?

पार्टीमा छलफल भयो होला। मिडियाले धेरै चासो र चिन्ता ग¥यो । मिडियाको दवावले पार्टीलाई महशुस भयो होला। पार्टीले गल्ती गरेको महशुस गरेर मन्त्री बनायो भन्ने ठानेको छु। यो संविधानको कार्यान्वयन हो। समानुपातिक सिद्धान्तलाई पालना ग¥यो, गण्डकी सरकारले भन्ने बुझ्नुपर्छ । यो स्वभाविक प्रक्रिया हो, खुशीको अनुभुति गरेको छु । पार्टीभित्रको आन्तरिक कुरा हो । गौण रुपमा लिनुपर्छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आउनु र तपाईं मन्त्रीमा नियुक्त हुनुमा कुनै तादम्यता छ ? कि मुख्यमन्त्रीले स्वविवेकले गर्नुभयो ?

प्रधानमन्त्री ज्यु पनि आउनुभएको थियो । त्यहाँ कुरा भयो । मैले पनि प्रधानमन्त्रीलाई भेटें । अरु कुरा त गरिनँ । आशिर्वाद मागें । प्रधानमन्त्री र सभापतिलाई कार्यकर्ताको हैसियतले भेट्नु सामान्य भयो । मैले आशिर्वाद चाहियो हजुर भनें । उहाँले आशिर्वाद दिनुभयो । मन्त्री भएँ । खुशी छु । दशैंको बेला मागेको आशिर्वाद लाग्दो रहेछ । मलाई पूरा भयो । एउटा विश्वास नै त रहेछ आखिर ।

मन्त्रालयको पनि छलफल भएको छ र ? कुन मन्त्रालयमा जाने चाहना छ ?

त्यस्तो कुनै कुरा भएको छैन । तर सल्लाह होला । मैले यो देउ भनेर भएन । सरकारले निर्णय गर्ने हो । प्रदेश सरकारले छिटै जिम्मेवारी दिन्छ भन्ने विश्वास छ । न्यूजकारखाना

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *