सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?

डिसी नेपाल
२४ चैत २०७९ ७:३९

काठमाडौं। आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव । यादव बारा २ मा हुने उपनिर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारसमेत हुन्।

अहिले भइरहेको चुनावी सभा, बैठक, कार्यक्रममा पुग्ने अधिकांश नेताले जसपा अध्यक्ष यादवको चर्को रूपमा विरोध गरिरहेका छन् । यादवको विरोध गर्दै उनीहरूले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका छन् । आफ्ना उम्मेदवार विजयी भए बारासहित मधेसको विकास, समृद्धिका लागि काम गर्ने उनीहरूको दाबी छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए। महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे। उपनिर्वाचनमा यादव विजयी भए केही नगर्ने बताउँदै ओलीले मधेसको विकासका लागि एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई मतदान दिन आग्रह गरे। ‘उहाँले जितेर के गर्नुहुन्छ ? उहाँले जितेपछि फूलमाला र अबिर लगाउनेबाहेक के गर्नुहुन्छ ? मन्त्री खानुहोला । त्योभन्दा बढी के गर्नुहुन्छ ? ओलीले भने।

कलैयाको सिद्धेश्वर माविस्थित क्रिकेट खेलमैदानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले यादवलाई ‘फिरंगी’को संज्ञा दिए । सप्तरी–२ मा ४ मंसिरमा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत दोब्बर मतले प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछ ।’

जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिष्कार गर्नुपर्ने बताए ।

आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले यादवलाई ‘बहुरुपीया’ रहेको संज्ञा दिएका छन् । मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गर्न आआफना ठाउँबाट लाग्नुपर्ने बताए ।

एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रे पनि यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनी मौन रहेरै मतदातासँग भेटघाट गरिरहेका छन् ।

बिहीबार कलैया पुगेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई यादवको आवश्यकता रहेको दाबी गरे । विभिन्न पार्टीका शीर्ष नेताले यादवको चर्को विरोध गरिरहेकै बेला ं पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए ।

कसले मार्ला बाजी ?

१० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित ‘हरुवा’ नेताहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ ।

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ४ मंसिरको निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष डा. राउतसँग सप्तरी २ मा पराजित भएका थिए । डा. राउतसँग झन्डै १८ हजारभन्दा बढी मतान्तरले पराजित यादवको प्रतिस्पर्धा अर्का हरुवा नेता शिवचन्द्र कुशवाहासँग हुँदै छ ।

४ मंसिरको आमनिर्वाचनमा बारा २ मा रामसहायसँग ३ सय ५४ मतले पराजित कुशवाहा यो निर्वाचनमा जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । यसअघि कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवार भएका थिए । त्यतिबेला कुशवाहा तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए । कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए भने रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाको समर्थन गत निर्वाचनमा कुशवाहालाई रहेको थियो । यस्तै, रामसहायलाई एमालेले समर्थन गरेको थियो ।

तर, अहिले गठबन्धन बदलिएको छ । १० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाले समर्थन गरेको छ । कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको छैन । यद्यपि, उनी समर्थन जुटाउने प्रयास भने जारी नै राखेका छन् । विभिन्न दलका असन्तुष्ट नेताको मत तान्ने प्रयासमा कुशावाहा रहेका छन् । जसपा अध्यक्ष यादव गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवलाई पार्टीमा प्रवेश गराउँदै सत्तारूढ गठबन्धनको पूरै मत लिएर संसद्मा प्रवेश गर्ने रणनीतिमा छन् । रामकिशोरले गत निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए ।

यस्तै, बारामा उम्मेदवारी दर्ता गरेका अर्का हरुवा उम्मेदवार हुन् रमेश खरेल र अधिवक्ता अरुण ज्ञवाली । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट र ज्ञवाली आमजनता पार्टी (आजपा)बाट उम्मेदवारी दिई प्रतिस्पर्धामा छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल गत साता मात्रै रास्वपामा प्रवेश गरेका हुन् । काठमाडौं १ मा गत निर्वाचनमा पराजित भएका खरेललाई रास्वपाले उम्मेदवार बनाएको हो । काठमाडौं १ मा उनी पाँचांै नम्बरमा सीमित हुन पुगेका थिए ।

४ मंसिरको निर्वाचनमा बारा २ बाटै पराजित अधिवक्ता ज्ञवाली स्वतन्त्र उम्मेदवार थिए । ७ हजार ६ सय ९८ मत ल्याएका ज्ञवाली यो उपनिर्वाचनमा प्रभु साहले नेतृत्व गरेको आजपाबाट उम्मेदवारी दिएका छन् । कुशवाहा, ज्ञवाली बारा २ कै स्थायी बासिन्दा हुन् भने यादव र खरेल अन्य जिल्लाका स्थायी बासिन्दा हुन् । बारा २ का मतदाताले स्थानीय उम्मेदवारलाई मतदान गर्ने बताउँदै गर्दा ‘टुरिस्ट’ उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् । यहाँ जातीय नारा पनि जोडतोडले उठेको छ ।

एमालेबाट पुरुषोत्तम पौडेल प्रतिस्पर्धामा छन् । निजगढ निवासी पौडेल पूर्वमन्त्री एवं पूर्व सांसद हुन् । एमाले पोलिटब्युरो सदस्य रहेका पौडेल २०७४, २०७९ को निर्वाचनमा उम्मेदवार हुन खोजे पनि पार्टीले टिकट दिएन ।

बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन् । त्यस्तै, कोल्हवी नगरपालिका–८ पनि बारा २ मै पर्छ । गत स्थानीय तहको निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो । कांग्रेसले महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिका जितेका थिए ।

समानुपातिकतर्फ बारा २ मा ४ मंसिरमा जसपाले १३ हजार २ सय ४२, कांग्रेसले ११ हजार १ सय ७९, एमालेले ९ हजार १ सय १३, जनमतले ८ हजार ८ सय ४६, लोसपाले ४ हजार २ सय ३५, नागरिक उन्मुक्तिले ३ हजार ७ सय ९४, माओवादीले ३ हजार २ सय ६५ मत ल्याएका थिए । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *