उम्मेद्वार बुबालाई विदेशबाट छोराको चिठी

२३ बैशाख २०७४

banner

आदरणीय बुवा,
सर्वप्रथम त स्थानीय तहको चुनाबमा, कागेश्वरीमनोहरा नगरपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवार हुनुभएकोमा तपाईलाई बधाइ तथा शुभकामना। तपाईले पाउनु भएको टिकट तपाईको उचित मूल्यांकन गरेर पार्टीले दिएको कुरामा म विश्वस्त छु र पार्टीलाइ यसका लागि धन्यवाद दिन चाहन्छु। तपाईको तीस–चालिस वर्षको राजनैतिक यात्रा र गाउँ विकासमा दिनुभएको योगदानको कदर पनि हो यो। तर यति भनिरहँदा तपाई सदैव पार्टी विशेषको मात्र मान्छे भैरहनुपर्छ भनेको कदापि हैन। अब यो भ्रमबाट माथि उठ्नको लागि सबै उम्मेदवारहरु साथै तपाईलाई आग्रह गर्दछु।

दुई दशकपछि हुन लागेको यस स्थानीय तहको निर्वाचनको तरङ्गले यति टाढा बसेको मलाइ पनि छोएको छ। मैले न्यूजिल्याण्ड आएपछि, एउटा विकसित मुलुकको स्थानीय तहको सरकार कस्तो हुँदो रैछ त, यसले कसरी चुस्तताका साथ काम गर्दो रैछ भन्ने कुरा पनि महशुस गर्न पाएकोले आफ्नो मनका दुईचार कुरा लेखिहालौं भनेर यो लेख लेखेको हुँ। यस लेखमार्फत बुवालाई मेरो पहिलो अनुरोध के हो भने, तपाईले भोट माग्न जानु अगावै हाम्रो घरको एककुनामा राष्ट्रिय झण्डा ठड्याउन नभुल्नु होला। राष्ट्रियता कमजोर भएको बेला, राजनैतिक विखण्डन पैदा भएको बेला, राष्ट्रिय झण्डाले सबैमा एकताको भाव पैदा गर्नेछ।

तपाईले भोट माग्न जानु अगावै हाम्रो घरको एककुनामा राष्ट्रिय झण्डा ठड्याउन नभुल्नु होला। राष्ट्रियता कमजोर भएको बेला, राजनैतिक विखण्डन पैदा भएको बेला, राष्ट्रिय झण्डाले सबैमा एकताको भाव पैदा गर्नेछ।

चुनाब हो, एकको जीत र अर्कोको हार अवश्य हुन्छ। यदि यो चुनाबमा जित्नुभयो भने पहिलो काम सर्वदलीय बैठक डाकेर सबै दलका एजेण्डा वा घोषणापत्र भेला पार्नुहोला र त्यहीँबाट ५ वर्षमा वडामा गर्न सकिने ५ योजनाहरु तयार पार्नुहोला। हार्नुभो भने अरुले डाकेको सर्वदलीय बैठकमा जान नछुटाउनु होला र हाम्रो वडामा गर्नैपर्ने र गर्न सकिने एउटा योजना लिएर जानुहोला। धेरै योजनाहरु एउटा टिमले सीमित समयावधिमा कार्यान्वयन गर्न सक्दैन। त्यसैले सपनाहरुको पोको बाँड्नु भन्दा सीमित समयमा गर्न सकिने कुरा लिएर अगाडि बढ्नु राम्रो हुन्छ। ‘५ बर्षमा ५ काम’को नारा सबै दलले लिन सके भने, जसले जिते पनि जसले हारे पनि, समग्रमा हाम्रो वडाको हित हुनेछ। 

मिल्छ भने ५ योजना मध्ये पहिलो र दोस्रोमा शिक्षा र स्वास्थमा गर्नसकिने कामहरु रोज्नुहोला। शिक्षा र स्वास्थ विकासका जग हुन् जसले स्थानीय मानिसलाई स्थानीय सरकारको पूर्ण अनुभूति गराउन सक्छन्। शिक्षा नै विकासको मूल आधार हो भन्ने कुरा त्यहाँ सिकेको र यहाँ अनुभूत गरेको कारणले भन्दैछु। शिक्षा क्षेत्रमा गर्न सकिने गुणस्तर वृद्धिको विषयमा के कस्ता योजनाहरु छन्, तिनमा पहिले ध्यान दिनुहोला।

‘५ बर्षमा ५ काम’को नारा सबै दलले लिन सके भने, जसले जिते पनि जसले हारे पनि, समग्रमा हाम्रो वडाको हित हुनेछ। 

दोस्रो, हाम्रो वडाको स्वास्थ चौकीको स्तरोन्नति गरेर सानो अस्पतालकै स्वरुपमा लैजाने कोसिस गर्नुहोला। सधै १–२ जना डाक्टर आउने व्यवस्था र हप्तामा एकदिन भएपनि विभिन्न रोगका विशेषज्ञहरु आउने वातावरण तयार गर्नुहोला।

तेस्रो, खेलकुदमा हाम्रो ठाउँ निकै पछि छ भन्दा फरक नपर्ला। त्यसैले खेलकुद विकासमा युवाको सहभागिता कसरी गराउने र खेलकुदको विकास कसरी गर्न सकिन्छ भनेर युवा भेला गर्नुहोला। त्यसबाट खेलकुद विकासको एउटा योजना तयार गर्नु होला।

चौथोमा, कुनै ठाउँमा आर्थिक गतिविधि छैन भने त्यहाँको दिगो विकास सम्भव नहुने हुँदा आर्थिक गतिविधि बढाउन सकिने कुनै योजना ल्याउनुहोला। जस्तै खेलकुदको विकास पनि हुने र आर्थिक गतिविधि बढाउने हो भने, चाङ्कोटेको समथर भागलाई खेलकुद विकासमा प्रयोग गर्न सकिन्छ। त्यसतर्फ पनि ध्यान दिनुहोला।

पाचौँमा फोहर व्यवस्थापन गर्ने योजना तयार गर्नु होला । हाम्रोतिर सड्ने फोहरहरुको खासै समस्या देख्दिन, ती मलखाल्डो हुँदै मलको रुपमा हाम्रै खेतमा प्रयोग हुन्छन्। तर प्लाष्टिक र प्लाष्टिकजन्य चीजहरुको राम्रो व्यवस्थापन नहुँदा ती हाम्रा खेत बारीमा पुगेर बालीनालीलाई असर गर्छन् संगसंगै बाग्मती खोलाको प्रदूषण पनि बढाएका छन्। हामीले बाग्मती सफा गर्न जानुपूर्व यस्ता प्लाष्टिक र नसड्ने खालका फोहरहरुको उचित व्यवस्थापन गर्न सक्यौं भने बाग्मती सफा गर्न गैरहनु पर्ने थिएन। 

परेको खण्डमा जुनसुकै परिस्थितिमा म तपाइलाई सहयोग गर्न आइपुग्ने छु। अब तपाईहरुले बाटो तय गर्ने हो अनि आउने पुस्ताले त्यसलाई समय अनुसार परिमार्जन र परिष्कृत गर्दै लैजान सझम छन् भन्नेमा म ढुक्क छु।

बुवा, यस्ता धेरै कामहरु छन् जुन क्रमिक रुपमा हाम्रा ठाउँहरुमा गर्दै जानुछ। अरु साना योजनाहरुमध्ये यातायातको उचित व्यवस्थापन पनि अपरिहार्य भैसकेको छ। अर्को भनेको वडाभरिमा ३ देखि ५ ठाउँमा खाली जग्गा पहिचान गरी तिनीहरुमा साना केटाकेटीहरु खेल्न सक्ने पार्कको योजना बनाउन सके, यसले साना केटाकेटीहरु, जो भविष्यका कर्णधार हुन्, तिनको वृद्धिविकासमा सहयोग गर्छ साथै आउने पुस्ता सक्षम बन्दै जानेछन्। सँगै ई–लर्निङ र सूचना प्रविधि (IT) सँग सम्बन्धित अवधारणा पनि मसँग छ त्यो पनि पछि शेयर गरौला। यी सब योजना सम्भव बनाउन स्थानीय तहकै विज्ञहरुको टोली बनाउनु होला।

यदि सरकारले १० बर्षमा एकचोटी तयार गर्ने जनगणना र अरु डाटाबेस भरपर्दो छैन भने माथिका योजना सँगसँगै वडाका मानिसहरुको गणना लगायत सबै कुराहरुको डाटाबेस तयार पार्ने काम पहिलो बर्षको योजना अन्तरगत राख्नुहोला। यस्तो डाटाबेस हुनु अत्यन्त जरुरी छ र यदि यस्तो डाटाबेस पहिले नै आफूसँग भयो भने जुनसुकै योजना तयार गर्नुपरेमा या कार्यान्वयन गर्नु परेमा धेरै सजिलो हुन्छ।

यदि तपाइले जित्नुभएको खण्डमा यी र यस्तै चुनौतीहरु आउनेछन्, त्यसलाई अवसरको रुपमा अगाडि बढाउनु होला। परेको खण्डमा जुनसुकै परिस्थितिमा म तपाइलाई सहयोग गर्न आइपुग्ने छु। अब तपाईहरुले बाटो तय गर्ने हो अनि आउने पुस्ताले त्यसलाई समय अनुसार परिमार्जन र परिष्कृत गर्दै लैजान सझम छन् भन्नेमा म ढुक्क छु।

Leave a reply

HTML Tags are not supported

Post My Comment »