नगरपालिकाको प्रमुखमा महिला नेत्री पुन विजयी

५ जेठ २०७४

banner

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बनेकी छिन्।

यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी भएका छन्। प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका थिए।

त्यसैगरी, उपप्रमुखमा कुल १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी खगिसरा गुरुङले ११ हजार ६९३ मत गरेका थिए।

नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ, जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेका विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी बनेको छ।

नवलपरासीमा ६ मा काँग्रेस, दुईमा एमाले
यसैगरी, स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठवटा स्थानीय तहमध्ये छवटा तहमा नेकाले विजय हासिल गरेको छ भने दुईवटा स्थानीय तहमा दोस्रो ठूलो दल नेकपा एमालेले विजय हासिल गरेको छ।

प्रमुख पदमा काँग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा विजयी बनेका हुुन्। यसैगरी नेकपा एमाले उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी बनेका छन्। काँग्रेस चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ।

त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको हो।

नेकपा (एमाले)ले जिल्लाको गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमा समेत विजयी हासिल गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »