लकडाउनमा विदेशबाट स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी

डिसी नेपाल
३१ साउन २०७७ २३:००

काठमाडौँ । कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् ।

यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ । त्यसैगरी प्रदेश नं १ का १० हजार ८८३, प्रदेश नं ५ का आठ हजार ५९८, प्रदेश नं २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१, सुदूरपश्चिम प्रदेशका एक हजार ३१९ र कर्णाली प्रदेशका एक हजार १७७ जना स्वदेश फर्केका हुन् ।

सो अवधिमा विभिन्न ३० मुलुकबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्स ९युएई०बाट हालसम्म सबैभन्दा बढी १४ हजार ३१४ नागरिक स्वदेश फिरेका छन् । यस्तै साउदी अरेबियाबाट सात हजार ८१७, मलेसियाबाट सात हजार ६४२, कुवेतबाट छ हजार ३२९, कतारबाट छ हजार १९१, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अष्ट्रेलियाबाट ९४३, ओमनबाट ८११ र माल्दिभ्सबाट ७०९ जना स्वदेश फर्केका सिसिएमसीले जनाएको छ ।

यो तथ्याङ्क कोभिड–१९ महामारीपछि भारतबाहेक तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकाको हो । कोरोना भाइरसका कारण भारतबाट फर्कनेको तथ्याङ्क यकिन छैन । सरकारले गत जेठ २३ गतेदेखि चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी स्वदेश फर्कन दिने निर्णय गरेको थियो ।

साउनमा तीन हजारले लिए श्रम स्वीकृति

साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ ।

सो अवधिमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई) का लागि एक हजार ३१६ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । यस्तै कतार ७०२, मलेसिया ३०९, साउदी अरेबिया २४८, कुवेत ९९, जापान ५३ र बहराइनका लागि ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै सरकारले गत चैतदेखि श्रम स्वीकृति दिन बन्द गरेको थियो । सरकारले गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *