कतारका अमिरको नेपाल भ्रमणः द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

डिसी नेपाल
१० वैशाख २०८१ ७:२१

काठमाडौं । कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयले कतारका अमिर अल थानी नेपाल आउने’bout आधिकारिक घोषणा सार्वजनिक गरेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हार्दिक निमन्त्रणामा कतार राज्यका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने जनाएको छ ।

अमिरले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नेछन् भने उनको सम्मानमा राजकीय भोजको आयोजना हुनेछ । उनले २४ अप्रिल अर्थात् बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

दुई मुलुकबीच विकास साझेदारीलगायतका एजेन्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । खाडी मुलुकबाटै पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई मुलुकको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिएको छ ।

नेपाल र कतारबीचको श्रम सम्झौतालाई परिष्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । आइतबारदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम रहेको छ । उनी बुधबारै स्वदेश फर्किनेछन् ।

कतारमा रहेका नेपालका कूटनीतिज्ञ तथा समाजका अग्रजहरू करिब वर्ष दिन अघिदेखि नै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको गृहकार्यमा जुटेका थिए । गत वर्ष २० र २१ कात्तिकमा हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो ।

द्विपक्षीय सम्बन्धमा कोसेढुंगा : राजदूत ढकाल

कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले अमिरलाई स्वागत गर्न पाउँदा नेपाली जनतामा उत्साहित भएको बताएका छन् । यस भ्रमणले दुई मुलुकबीचको कूटनीतिक र व्यापारिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण कोसेढुंगा हुने अपेक्षा गरिएको बताए ।

राजदूत डा. ढकालले विगत केही दशकयता लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा कतारको नेतृत्वप्रति आभार व्यक्त गर्दै कतारको ऐतिहासिक विकासमा नेपाली कामदारले गरेको महत्वपूर्ण योगदान रहेको बताए ।

नेपाल र कतारले विश्वव्यापी अवसर र चुनौतीलाई सम्बोधन गर्न विकास साझेदारका रूपमा मिलेर काम गर्नसक्ने सम्भावनामा उनले जोड दिए । कतारको उल्लेखनीय प्रगति र समृद्धि, मानवीय र द्वन्द्व समाधानका पहलहरूको प्रशंसा गरे ।

उनले नेपालको समृद्ध प्राकृतिक र मानव संसाधन, भारत र चीनबीचको रणनीतिक स्थान र बढ्दो आन्तरिक बजारलाई जोड दिँदै पूर्वाधार, कृषि, पर्यटन र मानव संसाधन विकासमा कतारलगायत विदेशीहरूलाई लगानी गर्न आह्वानसमेत गरेका छन् ।

दिगो आर्थिक वृद्धि हासिल गर्न, नेपालले रोजगारीका अवसरहरू प्रदान गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र लचिलो, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा योगदान पु¥याउनसक्ने पूर्वाधारमा रणनीतिक लगानीको आवश्यकतालाई मान्यता दिन्छ । नेपालमा लगानीका प्रमुख क्षेत्रहरू पूर्वाधार विकास, कृषि, पर्यटन र मानव संसाधन विकास समावेश छन् ।

‘नेपालको प्राकृतिक सौन्दर्य र यहाँका जनताको न्यानो आतिथ्यताले हाम्रा दुई राष्ट्रबीचको द्विपक्षीय जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन पुलका रूपमा काम गर्नसक्छ, म विश्वास गर्छु कि शेखा अस्मा अल थानी फहद बदरलगायत लोकप्रिय कतारी साहसिक व्यक्तिहरूले हालै नेपाल भ्रमणहरू गरेका थिए,’ राजदूत डा. ढकालले भने, ‘नेपालमा अवस्थित विश्वका केही अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्नेले थप कतारी र अन्य राष्ट्रियताका व्यक्तिहरूलाई बिदाको समयमा नेपालको सौन्दर्य हेर्न र अनुभव गर्न प्रेरित गर्नेछ ।’

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *