मन्त्रिपरिषद्को निर्णय : १७ वटा विधेयक मन्त्रिपरिषद्का विभिन्न समितिमा पठाइने

डिसी नेपाल
१४ साउन २०७५ १५:५२

काठमाडौँ । सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन बनाउन विभिन्न १७ वटा विधेयकहरुलाई मन्त्रिपरिषद्का समितिमा पठाउने निर्णय गरेको छ। सोमबार सांझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न १७ वटा विधेयकलाई मन्त्रिपरिषद्का विभिन्न समितिमा पठाउने निर्णय गरेको हो।

भुक्तानी फच्र्यौट सम्बन्धी, उपभोक्ता संरक्षण सम्बन्धी, अपराधबाट पीडीतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नागरिकता ऐन सम्बन्धी, अध्यागमन सम्बन्धी, यातानासँग सम्बन्धीत, वातावरण सम्बन्धी पहिलो संसोधन, शंकटापन्न बन्यजस्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी विधेयक,सामाजिक सुरक्षा सम्बन्धी, जातिय भेदभाव तथा छुवाछुत अन्त्य सम्बन्धी, आवासको अधिकार, खाद्य अधिकार, सुरक्षित मातृत्व तथा प्रजननसँग सम्बन्धीत नयाँ विधेयकहरुलाई मन्त्रिपरिषद्का विभिन्न समितिमा पठाईएको हो।

त्यसैगरी निवृत्त भरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय बैठकले गरेको छ।

हाल गण्डकी प्रदेशका कायमुकायम मुख्य सचिव नारायण प्रसाद विडारीलाई विशिष्ट श्रेष्ठीमा बढुवा गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका सचिव बुद्धि बहादुर खड्कालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा, प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रकमा र महालेखानियन्त्रक राम कुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गर्दै हाललाई दुवै मन्त्रालयको जिम्मेवारी मन्त्री चक्रपाणी खनालले नै हेर्ने गरि व्यवस्था गरेको छ।

नेपाल भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धी पुनरावलोकन सम्बन्धी पहिलो बैठकका लागि नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव रविशंकर सैजुको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने र टोलीले सहमति भएका विषयमा राष्ट्रिय हित विपरित नहुने गरि हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय बैठकले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *