आइसीसी टि–२० बरियताः आइपिएलका सबैभन्दा महंगा बलरभन्दा बसन्त रेग्मी उत्कृष्ट

डिसी नेपाल
२२ साउन २०७५ १२:२८

काठमाडौं। आइसीसीले सार्वजनिक गरेको क्रिकेट खेलाडीको पछिल्लो बरियतामा नेपालका बसन्त रेग्मीले विश्व क्रिकेटका स्टार बलरहरुलाई पछारेका छन् । उनले संसारकै सबैभन्दा महंगो क्रिकेट लिग आइपिएलका सबैभन्दा महंगा बलरलाई उछिनेका छन् । पछिल्लो बरियतामा बसन्त ७१ औं स्थानमा छन् ।

आइपिएलको अक्सनमा यस वर्ष सबैभन्दा महंगा खेलाडी इङल्याण्डका अलराउण्डर बेन स्टोक्स बनेका थिए । उनी अघिल्लो आइपिएलमा पनि सबैभन्दा महंगा थिए । यस वर्ष आइपिएलमा उनले साढे १२ करोड मूल्य पाएका थिए । तर स्टोक्स आइसीसीको बरियतामा बसन्तभन्दा ११ स्थान पछाडि ८२ औं स्थानमा छन् । स्मरण रहोस् उनी अलराउण्डर हुन् र अधिकांश टि–२० मा पूरै ४ ओभर बलिङ गर्छन् ।

यस वर्षको आइपिएलमा दोस्रो ठूलो मूल्य भारतका जयदेव उनादकटले पाएका थिए । उनले साढे ११ करोड मूल्य पाए । तर आइसीसीको बरियतामा उनी पनि बसन्तभन्दा पछाडि छन् । उनी बसन्तभन्दा ३ स्थान पछाडि ७४ औं स्थानमा छन् । यसबाहेक बसन्तले बलिङतर्फ भारतका रविन्द्र जडेजा, श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युज, वेष्ट इण्डिजका आन्द्रे रसेल, अस्ट्रेलियाका मार्कुस स्टोइनिस जस्ता हस्तीहरुलाई पछारेका छन् । यी सबै या त फूल टाइकर बलर हुन् वा अलराउण्डर ।

रोचक त के भने आइपिएलका यी महंगा खेलाडीहरु बसन्तजति खेल्न नपाएर पछाडि परेका पनि होइनन् । उनीहरुले राम्रो प्रदर्शन गर्ने मौका पाउँदा पनि राम्रो प्रदर्शन गर्न नसकेकै हुन् । बसन्तले अहिलेसम्म १२ टि–२० अन्तर्राट्रिय मात्र खेलेका छन् । १२ खेलमा उनले कूल २४७ बल फाल्दा २५७ रन दिएर १६ विकेट लिएका छन् । उनको इकोनोमी ६.२४ मात्र छ ।

बरियतामा बसन्तभन्दा पछाडि परेका बेन स्टोक्सले २२ टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् जसमा उनले ३३४ बल फाल्दा ४९६ रन दिएर १० विकेट मात्र लिन सकेका छन् । उनको इकोनोमी पनि ८.९१ छ । अर्का आइपिएलका महंगा बलर जयदेव उनादकटले १० टि–२० इन्टरनेशनल खेलेका छन् । १० खेलमा २०८ बलमा ३०१ रन दिएर १४ विकेट लिएका छन् । विकेटमा बसन्तजत्तिकै गतिमा अगाडि बढे पनि उनको इकोनोमी बसन्तको जति किफायती छैन । उनको इकोनोमी ८.६८ छ ।

बलिङतर्फ आइसीसीको टप १०० बलरको सूचीमा नेपालका सोमपाल कामी पनि अटाएका छन् । उनी सूचीको ९२ औं स्थानमा छन् । नेपालका कप्तान पारस खड्का र शरद भेषवाकर ब्याटिङतर्फ टप १०० ब्याट्सम्यानको सूचीमा परेका छन् । बरियता अनुसार पारस ९२ औं स्थानमा छन् र शरद ९८ औं स्थानका छन् । पारसले आइपिएलका हस्ती किरन पोलार्डलाई उछिनेका छन् । शरदले पनि वेष्ट इण्डिजका पूर्वकप्तान डरेस सामीलाई उछिनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *