साफ–यू १५ महिला फूटबलमा पाकिस्तानमाथि नेपालको सानदार जित
काठमाडौँ, २६-भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ ।भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताँै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् ।यो जितसँगै नेपालले समूहचरणमा महत्वपूर्ण ३ अङ्क जोडेको छ ।
अफगानिस्तान र मल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।यसअघि बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यतिबेला नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।
Facebook Comment