सरकारद्वारा विमस्टेक सम्मेलनको तयारी तीव्र (भिडियो सहित)

डिसी नेपाल
३० साउन २०७५ १४:४९

काठमाडौँ । सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) चौंथो शिखर सम्मेलनको तयारीको कामलाई अन्तिम चरणमा पु-याएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको हो।

सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीको कामलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवम् विमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मत/सम्हारको कामलाई तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराएका थिए।

सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन पनि दिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

आसन्न भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ। सरकारले सोही सम्मेलनको तयारीको कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्तरगतका विभिन्न उपसमितिहरु बनाएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *