नेकपाको कार्यदलले बुझायो प्रतिवेदन, प्रदेश कमिटीमा १५१ जना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रदेश नं ५ को एकताका लागि गठित कार्यदलले आज महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ ।
नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एकताका लागि गठन गरिएको कार्यदलका सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, मणि थापा, गणेशमान पुन र दलबहादुर राना रहेको कार्यदलले प्रतिवेदन बुझाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए ।
प्रतिवेदनमा प्रदेश कमिटी, जिल्ला कमिटी, केन्द्रीय सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्मा रहेकाको नामावली छ । कार्यदल सदस्य थापाका अनुसार प्रदेश कमिटीमा १५१ जनाको नामावली बुझाइएको छ ।
उहाँले प्रदेश कमिटीको अध्यक्ष र सचिवको नामपछि टुङ्ग्याउने गरी र जिल्ला कमिटी भने अध्यक्ष र सचिव टुङ्ग्याएर प्रतिवेदन बुझाइएको जानकारी गराए। उनका अनुसार जिल्ला कमिटीमा दाङ, प्यूठान, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पामा पूर्वनेकपा एमाले बाट नेतृत्व र पूर्वी रुकुम, रोल्पा, बाँके, बर्दिया र नवलपुर जिल्लामा पूर्वमाओवादी केन्द्रको नेतृत्वमा छ ।
अध्यक्ष एक पूर्वपार्टीले पाए सचिव अर्को पूर्वपार्टीलाई दिइने गरी भागबन्डा गरिएको छ। नेकपाले आजसम्म सबै कमिटीलाई एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । यसअघि कर्णाली प्रदेशका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
Facebook Comment