नेमारलाई रियल म्याड्रिडको अविश्वसनीय कीर्तिमानी प्रस्ताव

डिसी नेपाल
२ भदौ २०७५ ३:३७

एजेन्सी। रियल म्याड्रिडले पेरिस सेन्ट जर्मन(पीएसजी)का ब्राजेलियन स्टार नेमारका लागि कीर्तिमानी प्रस्ताव अघि सारेको छ।

यूएफाले आर्थिक फेयरप्ले नियमका आधारमा पीएसजीमाथि अनुसन्धान गरिरहेका बेला रियलले यो प्रस्ताव गरेको हो। पीएसजीले खेलाडी खरिद गर्न मापदण्ड भन्दा बढी रकम खर्च गरेको भन्दै यूएफाले उसविरुद्ध अनुसन्धान गरिरहेको हो।

यदि पीएसजीले फेयरप्लेको नियम भंग गरेको पाइएमा नेमारलाई बेच्नुपर्ने हुन्छ। यता, रियलका अध्यक्ष फ्लोरिन्टो पेरिज पनि क्रिस्टियानो रोनाल्डोको विकल्प नपाएर हैरान छन्।

ट्रान्सफर बजार बन्द हुन डेढ हप्ताको समयमात्रै बाँकी हुदा रियल म्याड्रिड जसरी पनि रोनाल्डोको विकल्प खोज्न चाहान्छ।

सोहीकारण नेमारका लागि रियलले ३ सय मिलियन यूरोको अविश्वसनीय कीर्तिमानी प्रस्ताव गरेको हो। बार्सिलोनाबाट पीएसजी आउँदा नेमार २ सय २२ मिलियन यूरोमा विश्वकै सर्बाधिक महँगो खेलाडी बनेका थिए। सो कीर्तिमानलाई पनि भंग गर्दै रियलले नेमारलाई नयाँ प्रस्ताव गरेको हो।

तर, पीएसजीले भने यूएफाले बेच्न दबाब दिएपछि मात्रै नेमारलाई बेच्नेछ। यूएफाले हाल पीएसजीको प्रायोजकहरुसँगको सम्बन्ध र सम्झौताको अनुसन्धान गरिरहेको छ। अगष्टको अन्त्यसम्म यूएफाले पीएसजीमाथि अनुसन्धान गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *