साफ यू-१५ मा नेपाल चौथो स्थानमै सीमित
काठमाडौं । भुटानमा जारी साफ यू-१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ।
तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै चौथो भएको हो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २/२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो।
खेलको शुरुआती तेस्रो मिनटमै डेकी याङडनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन्। पहिलो हाफसम्म १-० पछि परेको नेपालका लागि चन्द्र भण्डारीले ५८औँ र ५५औँ मिनेटमा गोल गरिन् । २-१ ले अगाडि बढेको अवस्थामा नेपालले ६६औँ मिनेटमा पुनःगोल खायो।
यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन्। त्यसपछि खेलमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। आजै उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र भारतबीच खेल हुनेछ।
बिहीबार भएको सेमिफाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान बङ्गलादेशसँग ५–० ले पराजित भएको थियो। नेपालले यही साउन २६ गते भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग २८ गते ३–० ले पराजित भएको थियो।
Facebook Comment