दोस्रो खेलमा आज नेपालको यस्तो टोलीसँग हुनेछ प्रतिस्पर्धा, के पारस खेल्लान?
काठमाडौं । अगष्ट अन्त्यमा मलेसियामा हुने एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ।
नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीका अनुसार स्थानिय ब्लुमफिल्ड क्लबसँग हुने ५० ओभरको खेल नेपाली समयाअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। खेल ब्लुमफिल्डको घरेलु मैदानमा हुनेछ।
श्रीलंकाको पुरानो क्लब मध्येको ब्लुमफिल्ड क्लब त्यहाँको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो। सन् १८९२ मा स्थापित उक्त क्लबले श्रीलंकाको उच्च डिभिजनको क्रिकेट प्रतियोगिता प्रिमियर ट्रफीको उपाधि ८ पटक जितेको छ।
विश्व क्रिकेटकै लिजेन्ड खेलाडी सनथ जयसुर्या यस क्लबबाट खेलिसकेका छन्। निपुन करुणानायकेको को कप्तानीमा रहेको टोली श्रीलंकन यू–१९ का खेलाडीहरुले भरिएको छ।
यसपछि अन्तिम खेल खेल्दै नेपाली टोली श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्नेछ। जसको विजेता बनेमा नेपाल एसिया कपमा भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्न पाउँनेछ।
छनौटमा नेपालसहित मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएई छन्। शीर्ष स्थानमा रहने टोली एसिया कपको भारत र पाकिस्तान रहेको समूह एमा हुनेछ।
यसअघि नेपालले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लबलाई ६७ रनको पराजित गरेको थियो।
नियमित कप्तान पारस खड्कालाई आराम दिइएको खेलमा नेपालले बनाएको १९४ रनको जवाफमा आर्मी क्लबले १२७ रन मात्रै बनाउन सकेको थियो। नेपालका लागि आरिफ शेखले ८९ रनको पारी खेलेका थिए भने सोमपाल कामि र बसन्त रेग्मीले ३–३ विकेट लिएका थिए।
दोस्रो अभ्यास खेल खेल्ने नेपाली टोलीको घोषणा भइनसकेपनि पहिलो अभ्यास खेलमा आराम दिइएका कप्तान पारस खड्का, अलराउण्डर सागर पुन र तीव्रगतिका बलर करण केसीले टोलीमा स्थान बनाउने सम्भावना देखिन्छ।
नेपालले तेश्रो तथा अन्तिम अभ्यास खेल अगस्ट २६ तारिखमा कोल्ट्स क्लबसँग हुनेछ। अर्कोदिन नेपाली टोली मलेसिया प्रस्थान गर्नेछ। टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने हाल वेस्टइण्डिमा क्यारेबियन प्रिमियर लिग खेलिरहेकाले अगस्ट २८ मा सोझै मलेसिया पुग्ने कार्यतालिका छ।
नेपाली टिम – पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल
Facebook Comment