राखी बाँधेपछि संजय दत्तले बहिनीलाई दिए २ रुपैयाँको कुपन, दाजुबहिनीको मन छुने प्रेमकथा
एजेन्सी। बहिनी प्रिया दत्त र नम्रता दत्त दुवै संजय दत्तको निकै नजिक छन् । यी दुवै दिदीबहिनी पिता सुनिल दत्तसँग मिलेर संजयको अगाडि ढाल बनेर उभिएका थिए जतिबेला संजय ड्रग्सको लतबाट बाहिर निस्कने कोसिस गरिरहेका थिए। यो कुरालाई संजय दत्तको बायोपिक संजूमा देखाइएको छैन तर कैयौं पटक संजयले यी कुरा विभिन्न समयमा भनेका छन् । आज २८ अगष्टमा संजय दत्तकी बहिनी प्रियाको ५२ औं जन्मदिन हो । आउनुहोस् यही अवसरमा संजय र प्रियाको एउटा घटनाबारे जानौं जसले दुवैलाई भित्रैदेखि हल्लाइदिएको थियो ।
संजय दत्तका दुई बहिनी प्रिया र नम्रताबाहेक परिवारका अन्य सबै सदस्य बलिउडमा सक्रिय थिए । संजयका पिता सुनिल दत्त र आमा नरगिस बलिउडका सुपरस्टार थिए । तर नम्रता र प्रियले बलिउड रोजेनन् । प्रियाले राजनीतिमा करिअर रोजिन् । प्रिया कांग्रेसकी नेता हुन् र पहिलोपटक १४ औं लोकसभा निर्वाचनमा उनी मुम्बइ उत्तरपश्चिमबाट सांसद बनेकी थिइन् । ‘मिस्टर एण्ड मिसेज दत्त– मेमोरिज अफ प्यारेन्ट्स’मा प्रिया र नम्रताले धेरै कुराहरुको खुलासा गरेका छन् । यो किताबमा प्रियाले त्यो घटनाको पनि उल्लेख गरेकी छिन् जब उनी जेलमा संजयलाई राखी बाँध्न गएकी थिइन् ।
यो घटना १९९४ को हो जब संजय दत्तको जमानत खारेज गरिएको थियो र उनलाई पुनः गिरफ्तार गरिएको थियो । किताबमा उल्लेख भएअनुसार प्रिया १९९४ को अगष्टमा संजयलाई राखी बाँध्न जेल गएकी थिइन् । त्यो समय निकै भावुक थियो र संजय निकै उदास थिए । जेलभित्रै प्रियाले संजयलाई राखी बाँधेकी थिइन् । राखी बाँधेपछि भारी मनसँग संजयले भनेका थिए ‘मसँग तिमीलाई दिन केही छैन । मसँग यो एकमात्र चीज छ जो मैले तिमीलाई दिन सक्छु ।’
संजयले प्रियालाई २ रुपैयाँको कुपन दिए जो जेलमा काम गरेवापतको उनको पारिश्रमिक थियो । प्रियाले लेखेकी छिन् ‘यो पल हाम्रो लागि निकै इमोशनल थियो ।’ भनिन्छ यो कुपनलाई प्रियाले अहिलेसम्म सम्हालेर राखेकी छिन् । प्रियाले अगाडि लेखेकी छिन् ‘यो घटनापछि सुनील दत्त रातभर सुत्न सक्नुभएन बिहान ४ बजे नै उठ्नुभयो ।’ संजयलाई १९९३ को मुम्बइ विष्फोटको घटनामा गिरफ्तार गरिएको थियो जसको सजाय पूरा गरेर संजय २५ फेब्रुअरी २०१६ मा छुटेका छन् ।
Facebook Comment