एशियाकप छनोटः ओमनलाई २२२ रनको लक्ष्य, अन्तिममा करणको छक्काको वर्षा
काठमाडौं। एशियाकप छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ।
आज मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा नेपाली ब्याट्सम्यान सागर पुनको लामो इनिङ र अन्तिममा करण केसीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ९ विकेटको २२१ रनको स्कोर खडा गरेको हो।
४९ औं ओभरमा ७ विकेट गइसकेपछि ब्याटिङमा आएका करणले मात्रै १० बलमा २६ रनको विष्फोटक इनिङ खेले । यसका लागि उनले २ छक्का र १ चौका प्रहार गरे । नेपालका लागि सागर पुनले सम्हालिएर ब्याटिङ गर्दै ८५ बलमा ८३ रनको योगदान दिए।
उनले ४४ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका बेला छक्का हान्दै अर्धशतक बनाएका थिए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ र आरिफ शेखले ३६ रनको योगदान दिए। सागरले सबैभन्दा लामो इनिङ खेल्ने क्रममा ६ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
अब केहीबेरमा ओमन जवाफी ब्याटिङमा उत्रिँदैछ । आजको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो । एसियाकपमा छनोट हुनको लागि नेपालले यो प्रतियोगिताको विजेता बन्नुपर्नेछ ।
Facebook Comment