साफ च्याम्पियन्सिप : भुटानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाव
ढाका। साफ च्याम्पियन्ससिपको दोस्रो खेलमा बिहीबार नेपालले भुटानको सामना गर्दैछ। उक्त खेलमा नेपालका लागि गर या मरको स्थिति छ।
खेल नेपाली समयानुसार पौने चारबजे ढाका स्थित बंगबन्धु रंगशालामा हुनेछ। पहिलो खेलमा दुबै टोलीले पराजय भोगेका कारण दुबैको लक्ष्य पहिलो जित हुनेछ ।
जित्ने टोलीले सेमिफाइनल सम्भावना कायम राख्नेछ भने पराजित हुने टोलीको सम्भावना सकिनेछ। त्यसले दुबै टोलीका लागि अन्तिम मौका भएकाले सम्पूर्ण तागत यस खेलमा खर्चिने भएकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
भुटानसँग नेपालले समग्रमा १२ पटक यसअघि खेलेको छ। जसको सम्पूर्ण नतिजा नेपालको पक्षमा छ। साफ च्याम्पियन्ससिपमा भने यी दुई टोली २ पटक भिडेका छन्। नेपालले भुटानसँग पहिलोपटक सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २ – ० ले हराएको थियो । उक्त खेलमा निराजन राइमाझी र कुमार थापाले गोल गरेका थिए।
यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३ – १ ले हराएको थियो । नेपालको जितमा सुरेन्द्र तामाङ, बसन्त थापा र विजय गुरुङ्गले गोल गरेका थिए। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन भुटान र अर्को खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना देख्छन्।
उनी भन्छन्, ‘फुटबल हो जे पनि हुन सक्छ तर भुटानविरुद्ध बलियो इतिहास र बंगलादेशलाई पनि हराउने क्षमता नेपालले राख्ने भएकाले हामी सेमिफाइनलमा पुग्नेमा विश्वस्त छौं।’ पहिलो खेलमा पाकिस्तानविरुद्ध अन्तिम समयमा गोल खादा नेपाल पराजित भएको थियो। उक्त खेलमा अट्याकिङ र डिफेन्समा गल्तीहरु भएको भन्दै त्यो नदोहोर्याए नेपालले सजिलै जित हात पार्न सक्ने महर्जन बताउँछन्।
Facebook Comment