चौथो अन्तराष्ट्रिय लिग खेल्दै सन्दिप लामिछाने, पारस र सोमपाल परेनन्
काठमाडौँ। नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्। उनलाई नान्गरर क्लबले १५ हजार अमेरिकी डलरमा लिएको हो। सोमबार दुबईमा भएको अक्सनमा उक्त क्लबले यति रकममा सन्दिप लामिछानेलाई लिएको हो।
सन्दिप लामिछाने आइसिसि एशोसियट राष्ट्र अन्तर्गत छानिएका हुन्। यो लिग सन्दिप लामिछानेको चौथो अन्तराष्ट्रिय लिग हुनेछ। सन्दिपले यसअघि आइपिएल, ग्लोबल टि ट्वान्टी र क्यारेबियन लिग खेलिसकेका छन्।
अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा सन्दिप लामिछानेसहित, नेपाली राष्ट्रिय क्रिकेट लिगका कप्तान पारस खड्का र बलर सोमपाल कामी पनि परेका थिए।
तर सोमबार भएको अक्सनमा कप्तान पारस खड्का र सोमपाल कामी भने छानिएनन्।
अफगानिस्तान क्रिकेट बोर्डले आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिग आउँदो अक्टोबरमा ५ देखि २१ तारिखसम्म चल्नेछ। प्रतियोगिता संयुक्त अरब इमिरेट्सको मैदानमा हुनेछ। लिगमा पाँच टिमले सहभागिता जनाउनेछन्।
Facebook Comment