कपिल शर्मालाई ठूलो झट्का, पूरै तुहियो टिभीमा फर्कने योजना
मुम्बइ। ६ महिनादेखि टिभीबाट बेपत्ता भएका कमेडियन कपिल शर्माले केही दिनअघि आफू ‘द कपिल शर्मा शो’ लिएर छिट्टै टिभीमा फर्कने बताएका थिए।
भारतीय पत्रिका ‘दैनिक भाष्कर’लाई दिएको अन्तरवार्तामा उनले आफू यही शोको अर्को सिजन लिएर आउने बताएका थिए। उनले भनेका थिए ‘अहिले सबै फाइनल भइसकेको छैन तर आफ्ना फ्यानसँग म बाचा गर्छु कि म छिट्टै आउँछु । यो शो दर्शकले मन पराउनुभएको छ र म यसलाई अगाडि लिएर जान्छु।’
कपिलले सकेसम्म चाँडो टिभीमा फर्कनको लागि च्यानलसँग प्रोजेक्टलाई सकेसम्म छिटो अगाडि बढाइदिन आग्रह गरेका छन्। तर, सोनी इन्टरटेनमेन्ट टेलिभिजनले भने कपिलको कुरालाई हल्का लिइरहेको बताइएको छ । सोनीले भने शोलाई अगाडि बढाउन कुनै चासो नदेखाएको बताइएको छ । कपिलले यसअघि देखाएको गैरजिम्मेवार व्यवहारका कारण सोनीले जोखिम लिन नचाहेको बताइएको छ। कपिलको शो सुरु गरेपछि बीचमै कपिलले धोका दिने आशंकामा सोनीले उनलाई विश्वास गर्न सकिरहेको छैन । सोनीले उनको कुरा अस्वीकार त गरेको छैन तर स्वीकार पनि नगर्दा कपिलको शो सुरु नै नहुने खतरा छ।
कपिल यो शो लिएर अर्को टिभीमा पनि जान सक्दैनन् किनकि यो शोको ट्रेडमार्क सोनी टिभीसँग छ। पछिल्लो शो फेकिली टाइम-२ एपिसोडमै बन्द भएपछि सोनीले कपिललाई विश्वास गर्न सकिरहेको छैन । यद्यपि सोनीले कपिलको प्रस्ताव रिजेक्ट पनि नगरेका कारण उसले यसको लागि अर्कै प्लान बनाएको बताइएको छ । सोनीले केही एपिसोड पहिल्यै सुटिङ गरी रेकर्डमा राखेपछि बल्ल यो शो सुरु गर्ने तयारी गरेको बताइएको छ।
Facebook Comment