१७ औँ चीन मेलामा सहभागी हुन उपराष्ट्रपति पुन चीन जाने

डिसी नेपाल
३० भदौ २०७५ १४:४१

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन्।

चीन भ्रमणका क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छेन्दुमा आगामी असोज ४ गतेदेखि शुरु हुने उक्त मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

त्यस्तै उनले आगामी असोज ५ गते अन्तर्राष्ट्रिय मेलाका अवसरमा छेन्दुमा आयोजित ‘डिजिटल फोरम’लाई समेत सम्बोधन गर्ने उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। चीनमा रहँदा उनले चीन सरकारका उच्च पदाधिकारी, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिसँग पनि भेट गर्नेछन्।

उपराष्ट्रपति पुनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन्। भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारीलगायत सहभागिता हुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति पुन औपचारिक भ्रमण सकी आगामी असोज ८ गते स्वदेश फर्किनेछन्। अघिल्लो कार्यकालमा उपराष्ट्रपतिले दुई पटक चीनको औपचारिक भ्रमण गरेका थिए। उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना हुने सो मेला आगामी असोज ८ गतेसम्म चल्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *