महिला च्याम्पियनसिपमा नेपाल फिलिपिन्ससँग पराजित

डिसी नेपाल
३ असोज २०७५ १४:१३

काठमाडौं । एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको हो । फिलिपिन्सले नेपाललाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो ।

फलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई गोल गरिन् । उनले खेलको पहिलो हाफको ४२औँ र ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् । त्यस्तै फिलिपिन्सले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

खेलको ७६औँ मिनेटमा फिलिपिन्सकी किइनी मियाक एलामोले थप एक गोल गरिन भने ८२औँ मिनेटमा अर्की खेलाडी मिकाइला भिलासिन एक गोल थपिन् । अब नेपालले आफ्नो दोस्रो खेलमा म्यान्मारसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा म्यानमारले मलेसियालाई ३–० ले पराजित गरेको थियो । म्यानमारको जितमा म्याट नोई खिनले ह्याट्रिक गरिन् । उनले खेलको ७५, ८७ र ८९ औं मिनेटमा गोल गरेकी थिइन् ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा छनोट हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *