खारेज गरिएका यातायात संघ, संस्थाहरुको बैंक खाता खुला नहुने

डिसी नेपाल
१० असोज २०७५ १३:५४

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले खारेज गरिएका यातायात संघ, संस्थाहरुको बैंक खाता खुला नहुने स्पष्ट पारेका छन्।

मन्त्री महासेठले सिन्डीकेट तोकिएसँगै बैंक खाता रोक्का गरिएका सबै यातायात संघ, संस्थाहरुको रकम सरकारको मातहत आउने र त्यसको परिचालनका सम्बन्धमा मन्त्रीपरिषद बैठकले आवश्यक निर्णय लिने पनि स्पष्ट पारे।

बुधबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले खारेज गरिएका संघ, संस्थाहरुको बैंक खाता खुला गर्न कानुनी रुपमा प्रतिबन्ध लगाउने निर्णय भईसकेको पनि स्मरण गराए।

मन्त्री महासेठले बैंक खाता रोक्का गरिएका यातायात संघ, संस्थाहरुको रकम यातायात क्षेत्रकै विकासमा परिचालन गर्नेगरी सम्बन्धित निकायमा आवश्यक छलफल भईरहेको पनि जानकारी दिए।

मन्त्री महासेठले दुर्घटना वा मृतक विमा सम्बन्धित पक्षलाई नै दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे। उनले सवारी दुर्घटनामा परी मृत्य भएका वा घाईते भएकाहरुलाई सोझै विमाबापतको रकम पाउने व्यवस्था सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मिलाएको जानकारी समितिलाई गराउनु भएको हो। मन्त्री महासेठले दसैंमा अभाव नहुनेगरी सवारी साधनको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिइएको पनि बताए।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले दसैंमा यात्रुलाई मारमा नपर्ने गरी सवारी साधनको अनुगमन गर्न आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए। उनले क्षमताभन्दा बढि यात्रु राख्न नपाउने व्यवस्थालाई प्रहरीले कडाईका साथ लागू गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

वरिष्ठ प्रहरी उपरीक्षक पन्तले भौतिक पूर्वाधार अस्तव्यस्त भएकाले उपत्यकामा ट्राफिक जामको समस्या झेल्नु परेकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराएका थिए। बैठकमा समितिका सदस्यहरुले दसैंमा यात्रुहरुलाई सहज हुने गरी सवारी साधनको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *