युभेन्ट्सको लगातार आठौं जितमा रोनाल्डोको एक गोल

डिसी नेपाल
२१ असोज २०७५ ३:०८

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साबिकको विजेता युभेन्ट्सले लगातार आठौं जित निकालेको छ। शनिबार उडिनेसलाई २–० ले हराएर युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो।

उडिनेसको मैदानमा भएको खेलमा युभेन्ट्सका लागि रोड्रीगो बेनटानकुर र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे। युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको ३३ औं मिनेटमा रोड्रीगोको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ३७ औं मिनेटमा क्रिस्टियानोले गोल गर्दै युभेन्ट्सलाई २ – ० को अग्रता दिलाए । च्याम्पियन्स लिगमा एक खेलको प्रतिबन्ध र बलात्कार आरोपमा मुछिएपछि पहिलोपटक मैदान उत्रिएका क्रिस्टियानोले गोल गरेका हुन् ।

क्रिस्टियानो अहिले अमेरिकामा एक महिला बलात्कारको विवादमा फसेका छन् । ३४ बर्षिया रोनाल्डोमाथि अमेरिकी महिलालाई सन् २००९ मा लास भेगासको एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । यस बिषयमा विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् ।

पहिलो हाफमा २ – ० ले अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप गोल गर्न सकेन । र, खेल युभेन्ट्सले २ – ० ले आफ्नो बनायो । जितसंगै युभेन्ट्सले ८ खेलबाट २४ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ । पराजित उडिनेस ८ खेलबाट ८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

सिरी ए अन्तर्गत नै अर्को खेलमा रोमाले इम्पोलीलाई २ – ० ले पराजित गरेको छ । यस्तै काग्लियारीले बोलोग्नालाई २ – ० ले नै हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *