घटस्थापनाको दिनबाट ‘छक्का पञ्जा–३’ प्रदर्शनमा आउँदा फिल्महलहरुमा दर्शकको ओइरो
काठमाडौं । ‘छक्का पञ्जा’ यो नामसँग अपरिचित सायद अब नेपाली छैनन्। यो सिरिजको पहिलो चलचित्रले इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल भएको थियो। १६ करोडमाथि कलेक्सन गरेपछि ‘छक्का पञ्जा’ को सिरिज निर्माण गर्न निर्माता निर्देशक हौशिए।
दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्यबाट छक्का पञ्जा सिरिजको तेस्रो चलचित्रकोसमेत जन्म भइसकेको छ।
तेस्रो चलचित्र अर्थात ‘छक्का पञ्जा ३’ बुधबार घटस्थापनाको दिनबाट देशैभर प्रदर्शनमा आएको छ। नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो।
बिहानको शो मा गोपीकृष्ण हलमा चलचित्र हेर्न आउने दर्शकको भीड लागेको छ । गोपी कृष्णका ५ वटा हलमा छक्का पञ्जा मात्रै चलिरहेको छ।
‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतले चलचित्रको हाइट अँझ उचो बनाएको छ। कमेडी भर्सेज कन्टेन्ट ट्रेलरले चलचित्रप्रति दर्शकमा कौतुहलता बढाएको छ। दीपाश्री निरौला निर्देशित फिल्ममा देशका प्रसिद्ध कलाकारहरुको अभिनय छ। दीपकराजले फिल्मको कथा लेखेका हुन्।
जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशिल विषयमा चलचित्र बनेको छ। चलचित्रको कथा दरिलो भएकाले अब आलोचना गर्नेको मुख बन्द हुने दिपकराजले बताए। चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको थियो।
देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ। चलचित्रले राजधानीको क्युएफएक्स च्यानलमा मात्र ३० शोज पाएको छ ।
दशैँको छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन्।
चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामा प्रस्तुत गरिएको छ।
Facebook Comment