ट्रफीसहित नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)
आर्यान धिमाल
काठमाडौं । मलेसियामा सम्पन्न आईसीसी टी–२० विश्वकप अन्तर्गत एशिया बीको छनोट उपाधि विजेता नेपाली क्रिकेट टोली आज नेपाल फर्किएका छन्।
आज दिउँसो ट्रफीसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा स्वागत गरिएको छ। नेपालले यो जितसँगै अस्ट्रलियामा २०२० मा हुने आईसीसी विश्व कप टी ट्वान्टीको पहिलो ढोका उपाधिसहित पार गरेको हो। मलेसियामा सम्पन्न एशिया बीको छनोट उपाधि जितेर नेपाल एशिया छनोटमा प्रवेश गरेको हो।
मलेसियामा सम्पन्न प्रतियोगितामा नेपाल अपराजित रह्यो। नेपालले ५ खेल जित्यो भने अन्तिम खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भयो। तर पाँचै खेल जितेको नेपालको सिंगापुरभन्दा रनरेट राम्रो भएकाले प्रतियोगिताको उपाधिसमेत जितेको हो।
मलेसियामा नेपालले शानदार प्रदर्शन गर्दै उपाधिसमेत जितेर आफ्नो क्लास देखाएको छ। सो प्रतियोगितामा समावेश मुलुकभन्दा नेपालको स्तर निकैमाथि देखियो। हुन त सो प्रतियोगितामा सहभागी टिम मध्ये नेपालमात्र एकदिवसीय क्रिकेटको मान्यता पाएको टिम हो। नेपालले विपक्षीविरुद्ध गरेको प्रदर्शन पनि सोही स्तरको रह्यो।
नेपालले कुनै पनि खेल तनावपूर्ण खेल्नु परेन । नेपालले पहिलो खेल म्यानमारमाथि ८ विकेटको जित निकाल्यो भने, चीनमाथि १० विकेटको जित हात पार्यो। यस्तै भुटानमाथि ११७ रनको जित निकाल्दा थाइल्याण्डमाथि १४० रनको जित हात पार्यो।
यस्तै मलेसियामाथि पनि ८ विकेटको जित हात पार्यो।
Facebook Comment