यातायातमन्त्री रघुवीर महासेठ भन्छन्, ‘नेपाल–भारत सम्बन्ध प्रगाढ छ’

डिसी नेपाल
३१ असोज २०७५ ४:०८

धनुषा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको दाबी गरेका छन्।

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुग्नुभएका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भने, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ।”

उनले नेपाल–भारतबीचको सम्बन्ध कूटनीतिकभन्दा पनि रोटीबेटीको सम्बन्ध भएको र हालका दिनमा अझ सुमधुर भएको बताउँदै भने, “भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कुर्था–बर्दिवास रेल यसको उदाहरण हो।”

मन्त्री महासेठले यसका अतिरिक्त भारत सरकारको सहयोगमा निजगढ–काठमाडौँ रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौँ योजनामा काम भइरहेको बताए। मन्त्री महासेठले जयनगर–जनकपुर–कुर्थासम्म डिसेम्बरसम्म निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

मन्त्री महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रासमेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *