‘ठग्स अफ हिन्दोस्तान’ बन्यो पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म
एजेन्सी। खराब रिभ्यू र खराब माउथ पब्लिसिटीका बाबजुद आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । फिल्मको हिन्दी संस्करणले पहिलो दिन ५० करोडभन्दा माथिको व्यापार गरेको छ । यससँगै फिल्मले ओपनिङको दिन सबैभन्दा धेरै कमाउने फिल्मको रुपमा शाहरुख खानको ह्याप्पी न्यू इयरको रेकर्ड तोडेको छ ।
यद्यपि यसले सर्वाधिक कमाउने भारतीय फिल्मको रुपमा ‘बाहुबली–२’को रेकर्ड भने तोड्न सकेन । बाहुबलीका सबै भाषाका संस्करणको पहिलो दिनको कमाइ १२२ करोड थियो । तर, बाहुबली–२ को हिन्दी संस्करणले मात्र भने पहिलो दिन ४१ करोड कमाएको थियो । यसअघि पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म ह्याप्पी न्यू इयरले झण्डै ४५ करोड कमाएको थियो । अब यो रेकर्ड ठग्स अफ हिन्दोस्तानको नाममा गएको छ ।
फिल्मले पहिलो दिन सबै संस्करणबाट गरेर ५२ करोड कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । तरण आदर्शले ट्वीटरमा लेखेका छन् ‘फिल्मको हिन्दी संस्करणले ५०।७५ करोड र तमिल तथा तेलुगु संस्करणले १.७५ करोड कमाएका छन् ।’ कमाइको हिसाबले ठग्स अफ हिन्दोस्ताननले तीन रेकर्ड बनाएको छ । यो फिल्म दिवालीमा रिलिज भएर सबैभन्दा धेरै कमाउने फिल्म, पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म तथा यशराज ब्यानरको पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
Facebook Comment