मिसेस एशिया ईन्टरनेशनल २०१८ मा भाग लिन परिकल्पना राई बैंककमा
काठमाडौं। थाइल्याण्डमा हुने विवाहित महिलाहरुको लागि समर्पित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा परिकल्पना राईले प्रतिनिधित्व गर्ने भएकी छिन्।
राईले ‘सिनियर लेडिज’ विद्याको ‘क्लासिक मिसेस एशिया ईन्टरनेश्नल’ शीर्षकमा प्रतिष्पर्धा जनाउँदैछिन्। जहाँ विश्वका विभिन्न देशका ४० वर्ष पार गरेका विवाहित महिलाहरुको प्रतिष्पर्धा छ।
४४ वर्षकी राई तीन सन्तानकी आमा हुन्। काठमाडौंको नयाँबानेश्वर निवासी राईले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी छिन्। राईलाई यात्रा गर्न खुबै मनपर्छ। त्यस्तै, सामाजिक कार्यमा पनि उनको रुचि छ। उनीसँग नेपालस्थित् डेनमार्क दूतावासमा ‘भिसा एण्ड कन्सुलर’ अफिसर्सको रुपमा एक दशकसम्म काम गरेको अनुभव छ। राई ‘मिसेस नेपाल ईन्टरनेश्नल–२०१५’ मा समेत सहभागी भएकी थिइन्। जहाँ उनले सेकेण्ड रनरअपको उपाधि जितेकी थिइन्।
राईले यही नोभेम्बर ८ देखि नोभेम्बर १५ सम्म ‘क्लासिक एण्ड मिसेस एशिया ईन्टरनेशनल–२०१८’ मा प्रतिष्पर्धा गरिरहेकी छिन्। उक्त कार्यक्रम थाईल्याण्डको रायोङ् डिस्ट्रिकमा भैरहेको छ। कार्यक्रममा राईको सहभागिता र सहजीकरणको लागि ‘ग्रुप अफ ईभेन्ट ईन्टरटेनर्स’ (जि.ई.ई.) ले व्यवस्थापनको काम गरिरहेको छ। जि.ई.ई उक्त कार्यक्रमको लागि नेपालको ‘अफिसियल फ्रान्चाईज’ पनि हो।
नेपालमा उक्त प्रतियोगिताको लागि कोरियोग्राफर रोजिन शाक्यले राईलाई प्रशिक्षण दिलाएका थिए। ई.आर.एम ब्यानरमा मिसेस एशिया ईन्टरनेशनल प्रतियोगिता सन् २०१२ देखि सुरु भएको हो।
Facebook Comment