परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान प्रस्थान

डिसी नेपाल
१ मंसिर २०७५ १३:४५

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न टोकियोतर्फ प्रस्थान गरेका छन्। आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय औपचारिक भ्रमणका क्रममा दुई देशका मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा यही मङ्सिर ३ गते नेपाल र जापानबीच खाद्य सहायतासम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भई परस्परमा आदानप्रदान हुनेछ। मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तथा जापानी उद्यमी व्यवसायीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी दिन आयोजना हुने नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् भने जापानमा रहेका नेपालीसँग छलफल गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख सहसचिव गणेशप्रसाद ढकाल र महाशाखाका उपसचिव रोशन खनाल परराष्ट्रमन्त्रीको सचिवालयका उपसचिव तेजबहादुर क्षेत्री र अर्थमन्त्रीको सचिवालयका एक जना उपसचिव रहेका छन्।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्ड थाइल्याण्डको दुईदिने भ्रमणसमेत पूरा गरी यही मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ। त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव पौड्याललगायत सोही मन्त्रालयका उच्च अधिकारीले मन्त्री ज्ञवाली नेतृत्वको प्रमण्डललाई बिदाइ गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *