बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
५ मंसिर २०७५ १४:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा बसेको चालू आर्थिक वर्षको पहिलो चौमासिक समिक्षा बैठकमा मन्त्रालयहरुको कार्य प्रगति विवरण सन्तोषजनक नरहेको पाइएपछि प्रधानमन्त्री ओलीले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन घोषित लक्ष्य अनुसार छिटो सम्पन्न गर्न सबै मन्त्रालयलाई सचेत गराए।

चालू आर्थिक वर्षको लक्ष्य अनुसार बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न मन्त्रालयहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले अर्को चौमासिक बैठकमा लक्ष्य अनुसार काम गर्न पनि सबै मन्त्रालयलाई सचेत पनि गराए।

आजको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य प्रगति विवरणको समिक्षा गरिएको थियो। ती मन्त्रालयहरुले विगतको भन्दा करिव ३९ प्रतिशतले कार्यप्रगति गरेको पाइएपनि चालू आर्थिक वर्षको लक्ष्य अनुसार असन्तुष्टि हुने अवस्था भने नरहेको अर्थमन्त्री खतिवडाले बताए।

बैठकमा मन्त्रालयहरुले मन्त्रालय, अन्तर मन्त्रालयलगायतका समस्याका कारण लक्ष्य अनुसार कार्य प्रगति गर्न नसकेको जानकारी पनि प्रधानमन्त्री ओलीलाई गराएका थिए। अन्य मन्त्रालयको समिक्षा बिहिबार (भोली) र शनिबार गर्ने प्रधानमन्त्री ओलीको योजना छ।

प्रधानमन्त्री ओलीले मन्त्रालयहरुले बनाएको योजना अनुसार काम भए, नभएकोबारे बुझ्न समिक्षा बैठक बोलाएका थिए। बैठकमा सम्बन्धित मन्त्रालयका सबै पदाधिकारीहरुको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *