जोन्टी रोड्सको टीमसँग पारसको टीम पराजित

डिसी नेपाल
८ मंसिर २०७५ १५:२०

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले शनिबार टीयू मैदानमा भएको च्यारिटी खेलमा नेपालका कप्तान पारस खड्काको नेतृत्वमा रहेको पारस ११ लाई १ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । जवाफमा जोन्टी ११ ले ९ विकेट गुमाउँदै अन्तिम ओभरमा लक्ष्य भेट्टायो । पारस ११ टोलीमा पारससँगै चर्चित कमेडीयन सन्दीप क्षेत्रीले पनि खेलेका थिए । पारसको टोलीबाट राष्ट्रिय टोलीका विनोद भण्डारी, आरिफ शेख, आसिफ शेख, ललित सिंह भण्डारी, कमल सिंह ऐरी, लगायतका खेलाडी खेलेका थिए ।

जोन्टी ११ बाट कप्तान रोड्ससँगै अभिनेता सुनील थापा, प्रशिक्षक मन्जुर आलम खान, दीपेन्द्र चौधरी, राष्ट्रिय टोलीका अनिल कुमार साह, सुवास खकुरेल, लगायत आयोजक टोलीका सदस्यले प्रतिस्पर्धा गरेका थिए । रोड्स ‘राइज अफ द क्रिकेटिङ’ हाइ पर्फर्मेन्स क्याम्पका लागि दुई सातादेखि नेपालमा छन् । कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस) र स्पोर्ट्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन्।

दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् । आयोजकले शनिबार विश्व अटिजम दिवसको अवसरमा च्यारिटी खेलको आयोजना गर्ने कार्यक्रम राखेको थियो । अटिजम केयर नेपाल सोसाइटीको कास्की जिल्ला च्याप्टरको सहयोगार्थ भएको खेलमा दर्शकहरुको लागि भने प्रवेश निःशुल्क रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *