धनमाया दिसुवा बनिन् यस वर्षको पाल्पा लोक आइडल
पाल्पा । तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल भएकी छिन्।
शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल भएकी दिसुवा नगद एक लाख र प्रमाणपत्रद्वारा सम्मानित भएकी छिन्। प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल भएका हुन्।
गत पुस १५ गतेदेखि शुरु भएको ‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिस्पर्धा भएको थियो। जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिस्पर्धा भएको थियो।
कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताए। पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उनले बताए।
Facebook Comment