यासिर साहले एकै दिन १० विकेट लिएपछि न्यूजिल्याण्ड संकटमा

डिसी नेपाल
१० मंसिर २०७५ १५:२५

एजेन्सी । यूएईको दुबैमा जारी पाकिस्तान र न्यूजिल्याण्डबीचको दोस्रो टेष्टमा पाकिस्तानले जितको पूरा तयारी गरेको छ । सोमबार तेस्रो दिनको खेल सकिँदा फ्लोअन खेलेको पाहुना टोली न्यूजिल्याण्ड ८ विकेट हातमा रहँदा १९७ रनले पछाडी छ ।

पाकिस्तानको यो उम्दा प्रदर्शन स्पीनर यासिर साहको कलात्मक बलिंगको परिणाम हो । उनले सोमबार एकै दिन न्यूजिल्याण्डका १० विकेट लिए । तर, एकै इनिंगमा भने होइन् । उनले न्यूजिल्याण्डको पहिलो इनिंगमा ८ विकेट लिए भने दोस्रो इनिंगमा २ विकेट लिइसकेका छन् ।

टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्ताले ५ विकेटमा ४१८ रन बनाउँदा इनिंग समाप्तीको घोषणा गरेको थियो । पाकिस्तानका लागि ह्यारिस सोहलले १४७ र बाबर आजमले १२७ रनको योगदान दिएका थिए ।

यसपछि ब्याटिंग गर्न मैदानमा आएको न्यूजिल्याण्डले पहिलो विकेटका लागि ५० रन जोडेको थियो भने बाँकी ९ विकेट ४० रन बनाउँदा गुमायो । न्यूजिल्याण्डले पाकिस्तानविरुद्ध टेष्टमा बनाएको यो सबैभन्दा न्यून स्कोर हो । साहले न्यूजिल्याण्डको ब्याटिंग ध्वस्त बनाउने क्रममा ५ ब्याट्सम्यानलाई शून्यमा आउट गरे भने अरु तीन विकेट पनि लिए ।

पाकिस्तानका लागि एक विकेट फास्ट बलर हसन अलिले लिए भने एक रनआउटका रुपमा विकेट झरेको थियो । सो रन आउटमा पनि साहले नै सहयोग गरेका थिए ।

फ्लोअन टार्न नसकेपछि सोमबारै न्यूजिल्याण्डले दोस्रो इनिंग शुरु गरेको थियो । सोमबार खेल सकिँदा न्यूजिल्याण्डले महत्वपूर्ण दुई विकेट गुमाइसकेको छ । दुबै विकेट साहले लिएका हुन् ।

न्यूजिल्याण्डले कप्तान केन विलियम्सन र ओपनर जित राभेलको विकेट गुमाएको छ । पहिलो टेस्ट भे न्यूजिल्याण्डले ४ रनले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *