‘राजपा सरकारमा जाने कुनै सम्भावना छैन’ – राजेन्द्र महतो

डिसी नेपाल
१४ मंसिर २०७५ १५:०२

काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको प्रष्टयाएका हुन्।

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ‘राजपा सरकारमा जाने’ भन्ने विभिन्न सञ्चार माध्याममा आएका समाचारमा सत्यता नरहेको दावी समेत गरे।

संयोजक महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पारे। संयोजक महतोले आफूलाई संयोजक बनाएपछि पार्टी अध्यक्ष मण्डलको बैठक बस्न नसकेको भन्ने समाचारको पनि खण्डन गरेका छन्।

महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयप्रति असहमति जनाउँदै नेता अनिल झा नआएपछि आज बोलाइएको अध्यक्ष मण्डलको बैठक समेत बस्न सकेन। तर संयोजक महतले भने पार्टी भित्र कुनै विवाद नरहेको दावी गरेका छन्। उनले आज पनि अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी पनि दिए।

संयोजक महतोले नेता ठाकुर उपचार गरेर भारतबाट फर्केपछि बस्ने बैठकले पार्टीको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने आवश्यक निर्णय लिने पनि स्पष्ट पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *