‘ए’ डिभिजन लिग: मनाङ र आर्मीको अपराजित यात्रा कायमै
कुमार चौलागाईं
काठमाडौँ,। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचाँै चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ ।
मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बराबरीसहित १३ अङ्कका साथ दोस्रो स्थानमा छ । थ्रीस्टार र सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२÷१२ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीन खेलमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०÷१० अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । सरस्वति क्लब दुई जीत र तीन खेलमा पराजित हुँदै छ अङ्कका साथ सातौँ स्थानमा छ ।
ए डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लब एउटा जीत, एउटामा बराबरी र तीन खेलमा पराजित हुँदै चार अङ्कका साथ आठौँ र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौँ, १०औँ र ११औँ स्थानमा छन् । चार खेलमा पराजित र एउटामा जीतसहित ब्रिगेड ब्वाइज लिगको १२औँ स्थानमा छ । मछिन्द्र दुई अङ्कका साथ १३ औँ तथा एनआरटी एक अङ्कका साथ अङ्कतालिकाको पुछारमा छ ।
छैटौँ चरणका खेल मङ्गलबारदेखि
लिगअन्तर्गत मङ्गलबारदेखि छैटौँ चरणका खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । छैटौँ चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।
Facebook Comment