एउटा हाकिम पदको लागि प्रचण्डका भाइ, पुर्व महानिर्देशक,सचिव, विद्यार्थी नेता लगायत दर्जनौ दौडमा

डिसी नेपाल
१७ मंसिर २०७५ १७:१९

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सदस्य–सचिव (कार्यकारी) का लागि दौडधुप सुरु भएको छ । उक्त पदमा पूर्व विद्यार्थी नेता, पूर्व सचिव सहित दर्जन भन्दा बढी एक महिनादेखि दौडमा छन् ।

कोषमा २८ कात्तिकदेखि सदस्य–सचिव पद रिक्त छ । कोषको यो कार्यकारी पद सेवा, सुविधा र देश विदेश भ्रमण गर्न पाइने भएकाले आकर्षक मानिन्छ । कोषले पदयात्रामा विश्वमै ख्याती कमाएको अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्रसहित तराईमा पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्म जैविक विविधता र वन्यजन्तु संरक्षणमा काम गर्दै आएको छ ।
Yamaha

तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका पालामा नियुक्त भएका गोविन्द गजुरेलको ५ वर्षे कार्यकाल २७ कात्तिकमा सकिएपछि उक्त पदका लागि दर्जन भन्दा बढी आकांक्षी देखिएका हुन् । कोषको अध्यक्षका हैसियतले वन तथा वातावरणमन्त्रीले सदस्य–सचिव नियुक्त गर्ने व्यवस्था छ । प्रधानमन्त्री कोषका संरक्षक हुन्छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतनिकट स्रोतका अनुसार विगतमा वैद्य नेतृत्वको माओवादी विद्यार्थी संगठनमा अध्यक्ष रहेका नेकपाका नेता रामदीप आचार्यले जिल्लाबासीका हैसियतले आफूलाई सदस्य–सचिव बनाउन दबाब दिइरहेका छन् ।

मन्त्री बस्नेत र आचार्य जाजरकोटकै हुन् । यद्यपी उनी जैविक विविधता र वन्यजन्तु संरक्षणका ज्ञाता होइनन् ।

उक्त पदका लागि वन मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेल, निकुञ्ज विभागका पूर्व महानिर्देशक मेघबहादुर पाण्डे र फणिन्द्रराज खरेल, लामो समय कोषमै काम गरेका टोपबहादुर खत्री, कास्कीका वन विज्ञ किरण पौडेल, भर्खरै पदावधि सकिएका गजुरेल, कोषकै वरिष्ठ अधिकारीहरु सिद्धार्थबज्र बज्राचार्य, दीपककुमार सिंह, सरिता ज्ञवाली, चितवन मेघौलीका कमल घिमिरेलगायत दौडमा छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालका भाइ एवं वनको सुशासन र कार्य अधिकारमा विद्यावारिधी गंगाराम दाहालको समेत सदस्य–सचिवमा नियुक्ति हुने सभावना छ ।

सदस्य सचिव मन्त्रीले नियुक्त गर्ने व्यवस्था भएको र मन्त्री अध्यक्ष दाहाल निकटकै व्यक्ति भएकाले सदस्य–सचिवमा उनको नियुक्ति हुनसक्ने बलियो सम्भावना रहेको स्रोतको दाबी छ । दाहाल हाल सेन्टर फर इन्टरनेशनल फरेष्ट्री सेन्टर (सिफोर) मा इण्डोनेशियामा कार्यरत छन् ।

कोषमा कार्यकारी निर्देशक रहेका बज्राचार्य यसअघि दुई पटक सदस्य–सचिव भइसकेका भए पनि पटक–पटक विवादमा आएका अधिकारी हुन् । तत्कालीन वनमन्त्री मुहम्मद वकिल मुसलमानले आर्थिक लाभ लिएर बज्राचार्यलाई सदस्य सचिव बनाए पनि सर्वोच्च अदालतले सदस्य सचिवमा जुद्धबहादुर गुरुङलाई थमौती गरेको थियो । त्यसपछि बज्राचार्यले पुन: निर्देशक पदमै फर्केर काम गर्न थालेका थिए ।

घिमिरेले वनस्पतिशास्त्रमा विद्यावारिधी गरिरहेका छन् । पूर्व महानिर्देशक पाण्डेले आफू नेकपा निकटकै भएकाले आफूले पाउनुपर्ने भन्दै शक्तिकेन्द्र धाइरहेका छन् । सिंह र ज्ञवालीले समेत आफूहरुसँग कोषमा काम गरेको धेरै अनुभव भएकाले उक्त पद पाउनुपर्ने जीकिर गरेका छन् ।

खत्रीले विगतमा कोषको चितवन निकुञ्जस्थित् जैविक विविधता संंरक्षण केन्द्रमा रहेर काम गरेका थिए । उनीसँग जैविक विविधता र सिमसार व्यवस्थापनमा काम गरेको अनुभव छ ।

पाँच वर्षे कार्यकाल बिताएका गजुरेललाई पनि अँझै उक्त पदमा बस्ने रहर बाँकी नै छ । उनले गत साता मन्त्री बस्नेत र पत्नी सत्या पहाडीसँग एक रिसोर्टमा बसेर लामो छलफल गरेको स्रोतले बतायो ।

मन्त्री बस्नेत र सचिव विश्वनाथ ओली लगायतका अधिकारी भने गजुरेलको कार्यकालसँग सन्तुष्ट छैनन् । ‘उहाँले विदेश भ्रमण र व्यक्तिगत सम्बन्ध विस्तारमा मात्र ध्यान दिनुभयो’ एक कर्मचारीले भने,‘फेरी पनि सदस्य सचिवका लागि दौडमा लागेको सुन्दा आश्चर्य लाग्यो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *