सफलता माथि सफलता हात पार्दै मिस नेपाल शृंखला खतिवडा सफल हुनुको रहस्य यस्तो छ
काठमाडौं , यतिखेर मिस वल्र्डमा मिस नेपाल शृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरू खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालको तर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ शृंंखलाका सफलताका कारणहरू के–के होलान् भनेर खोजीनीति सुरु भएको छ । मिस नेपाल शृंंखलाले चीनमा जारी मिस वल्र्ड अन्तर्गत मल्टिमिडिया दुई वटा अवार्ड हात पारिसकेकी छन् । खतिवडाले ‘ब्युटी विद अ पर्पस’ र ‘मल्टी मिडिया’को अवार्ड हात पारिसकेकी छन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ ।
सोमबार सार्वजनिक भएको नतिजामा शृंंखलाले एक सय १९ देशका प्रतिस्पर्धीहरूलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी थिइन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोपटक हो । विभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर शृंंखलालाई विजेता घोषित गरिएको मिस वल्र्डको आधिकारिक इन्स्टाग्राम पेजमा जनाइएको छ ।मिस नेपाल शृंंखलालाई नजिकबाट चिनेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवाल शृंखलाको सफलताको एउटा कारण उनको बौद्धिकता रहेको बताउँंछन् । शृंखला उनको कम्पनी गोर्खा इको प्यानलका ब्रान्ड एम्बेसडर हुन् ।इन्जिनियर दुवाल भन्छन्, ‘अरू मिस नेपालहरू सायद शारीरिक सौन्दयर्तामा केन्द्रित होलान्, तर मिस नेपाल शृंखलासँंग थप बौद्धिकता पनि तीक्ष्ण छ ।’ शृंंखलाको सफलताको एउटा बलियो आधार ब्युटी विद पर्पाेज (उद्देश्यसहितको सौन्दर्य) रहेको उनी बताउँंछन् ।
मिस वल्र्ड–२०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रूपमा आफूलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी उनले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भवनलाई वृतचित्र बनाई लगेकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पु¥याएको अभियानलाई उनले वृतचित्रमा समेटेकी छिन् ।यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीनमा रहेकी शृंंखला आफैंले पनि आफ्नो सफलताको कारण आफूले लगेको ब्युटी विद् पर्पाेज भनिरहेकी छिन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली शृंंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरिरहेका छन् ।
ब्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौन्दर्य) भन्ने नाराका साथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरूले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरूको मूल्यांकनको एउटा आधार उनीहरूले लिएर गएको यही ब्युटी विथ पर्पाेज पनि हुने गर्दछ ।प्रतियोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरूले आ–आफ्नो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका एक सय २० वटा देशहरूका सुन्दरीहरूले सहभागिता जनाउने बताइएको छ ।ब्युटी विथ ब्रेन भनेर चिनिने शृंंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेसाले आर्किटेक्ट इन्जिनियर शृंखलाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेकी हुन् ।
Facebook Comment