मेस्सी ‘फुटबलका जादुगर’ : अर्टुरो भिडाल
स्पेनिस ला लिगाअन्तर्गत गत राति भएको सिजनको पहिलो क्याटलान डर्बीमा बार्सिलोनाले इस्पन्योललाई उसकै घरमा ०–४ ले हरायो । सो खेलमा बार्सिलोनाका कप्तान लिआनेल मेस्सी नायक बने ।
बार्सिलोनालाई फराकिलो जित दिलाउन मेस्सीले २ दर्शनीय फ्रि किक गोल मात्रै गरेनन्, १ गोलका लागि पाससमेत मिलाए । उनी एकै खेलमा ३ गोलका लागि सहभागी बने । सो खेलपछि बार्सिलोनाको जितको भन्दा बढी मेस्सीको २ वटा फ्रि किक गोलको चर्चा छ ।
सो खेलपछि बार्सिलोनाकै नयाँ खेलाडी अर्टुरो भिडालले मेस्सीको प्रशंसा गरेका छन् । यसै सिजनको सुरुमा जर्मन क्लब बार्यन म्युनिखबाट बार्सिलोना पुगेका उनले मेस्सीको खुलेर प्रशंसा गरेका हुन् ।
भिडालले मेस्सीलाई ‘फुटबलका जादुगर’ को संज्ञा दिएका छन् । ‘म सधैं मेस्सीको खेलको प्रशंसक हुँ । उनले जे गर्छन्, त्यो सबैले गर्न सक्दैन्,’ भिडालले भने, ‘आज उनले जे गरे, त्यो एक जादुझैं थियो ।’
अर्को प्रसंगमा भिडालले बार्सिलोनाको टोलीमा आफूले बिस्तारै सहज अनुभूत गर्दै गएको बताए । ‘म अहिले यहाँ अझै बढी सहज अनुभूत गरिहेको छु,’ उनले भने, ‘म अझै धेरै मिनेट मैदानमा बिताउन चाहन्छु ।’
केही समयअघि भिडालले आफूले खेल्न नपाएको भन्दै प्रशिक्षकप्रति असन्तुष्टि जाहेर गरेका थिए ।
Facebook Comment