यि नेपाली कलाकार जो मासु खादैनन् !
१. निखिल उप्रेती ः
जन्मिएदेखि करिब १० वर्षको उमेरसम्म अभिनेता निखिल उप्रेतीले मासुको स्वाद थाहा पाएनन् । मासु पाकेको दिन भान्सामै प्रवेश नगर्ने उनको बानी थियो, दस वर्ष लागेपछि भने उनको मुड अचानक परिवर्तन भयो । उनी यसरी मांसाहारी भए कि परिवारका सबै सदस्य आश्चर्यमा परे । हुँदा हुँदा उनी मासु बिना खाना नै नरुच्ने अवस्था सम्म पुगे । करिब २० वर्षसम्म निखिलको हरेक छाकको खानामा मासु अनिवार्य झैँ हुन्थ्यो ।
३० वर्ष पुग्नै लाग्दा चलचित्रमा स्थापित भैसकेका उप्रेती आध्यामिकतर्फ आकर्षक भए । झन्डै आठ वर्षअघि ध्यानमा लीन भएको अबस्थामा उनको मासु नखाने प्रण गरे । पाल्पामा छायांकन भैइरहेको चलचित्र ‘पिँजडा ब्याक अगेन’ को सेटमा भेटिएका अभिनेता उप्रेतीले भने, ‘अहिले म पूर्ण रुपमा शाकाहारी भएको छुु बिहान र दिउँसो त फलफूल मात्र खाएर काम चलाइरहेको छु । साँझ पनि हल्काफुल्का खानाले पेट भर्छ ।’
२. निशा अधिकारी ः
अभिनेत्री निशा अभिकारी शतप्रतिशत शाकाहारी हुन् । माछा मासुको स्वादैथाहा नपाएकी निशा सागपात भनेपछि हुरुक्क हुन्छिन् । निशा भन्छिन्, ‘मलाई रायोको साग भएपछि माछा मासु केही चाहिदैन ।’ निशाले रायोको सागकै कारण आफू तन्दरुस्त भएको दाबीसमेत गरिन् । रायोको सागबाहेक उनी ब्रेकफास्ट तथा स्न्याक्सका रुपमा फलफूल खान रुचाउँछिन् ।
३. दिपक, दीपा ः
अभिनेता तथा निर्देशक दीपकराज गिरी कुनै बेलामा माछा मासु खान्थे । सहकर्मी दीपाश्री निरौला लामो समयदेखिकी शाकाहारी भएकोले दीपकलाई पनि बिस्तारै माछा मासु त्याग्न सहज भयो । दुई वर्षअघिसम्म अण्डालाई खानामा समावेश गरिरहेका दीपक त्यसयता पूर्ण रुपले शाकाहारी छन् ।
लामो समयदेखि मासु खान छोड्ने आफ्नो चाहनालाई कब्जियत तथा फिस्टुलाले सहयोग पुयाएको दीपकको कथन छ । त्यसअघि उनी हरेक वर्षको साउन, भदौ तथा असोज महिना पूर्ण शाहाकारी हुन्थे । दुई वर्षयता भने उनी शतप्रतिशत शाकाहारी भएका छन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शाकाहारी भएको दुई दशकभन्दा बढीभयो । दुई दर्शकअघि एउटा ध्यान कुन्द्रमा पुगेपछि दीपालाई मासु खानै मन लागेन । त्यसअघि उनी सामान्य रुपमा मासु खान्थीन् । मांसहारीका रुपमा ध्यान गर्दा मन एकाग्र हुन नसकेपछि उनी चटक्क मासु छाडेर शाकाहारी बनेकी हुन् । शाकाहारी भएको केही महिनापछि विराटनगरमा परिवारका सदस्यहरुको करले मासु खाँदा उनलाई बान्ता भयो । त्यसपछि उनले आजसम्म मासु खाएकी छैनन् ।
४. दिलीप रायमाझी ः
अभिनेता दिलीप रायमाझी भात भनेपछि हरुक्क हुने कलाकार हुन् । यद्यपि उनी जन्मजात शाकाहारी हुन् । आफनी आमा शाकाहारी भएकोले रायमाझीले कहिल्यै मासुको स्वाद चाखेनन् । परिवारमा छोरी तथा श्रीमतीले कहिले काही मासु खाने रहर गरे भने उनी त्यो रहर भने पूरा गरिदिन्छन् ।
५. प्रदिप खड्का ः
चलचित्र प्रेमगीत बाट स्थापित भएका अभिनेता प्रदीप खड्का लामो समयसम्म शाकाहारी रहे । चलचित्र ‘प्रेमगीत २’ का लागी सिक्स प्याक बनाउन उनको शरीरमा प्रोटिनको मात्रा बढाउनुपर्ने भयो । त्यहि भएर केही महिनाअघि मात्र उनी शाकाहारीबाट मांसहारी भए । यद्यपि आफू चाँडै शाकाहारी नै हुने प्रदीपको तर्क छ । स्वस्थ तथा आकर्षक देखिन आफुले मासु त्यागेको खड्का बताउँछन् ।
६. अश्लेषा ठकुरी ः
‘प्रेमगीत २’ कै अभिनेत्री अश्लेषा ठकुरी पनि शाकाहारी हुन । चलचित्रमा आउनुभन्दा केही समयअघि उनले माछा मासु छाडेकी हुन् । स्वास्थ्यका दृष्ट्रिले आफू शाकाहारी भएको अश्लेषाको भनाई छ ।
– कान्तिपुर साप्ताहिक
Facebook Comment