सभापती र वरिष्ठ नेताको चर्काचर्की

डिसी नेपाल
२७ मंसिर २०७५ १४:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुसँग ‘अभद्र’ रुपमा प्रस्तुत भएका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल बोलिरहँदा बीचबीचमा प्वाक्क जवाफ दिनुका साथै आलोचकमाथि खनिएका छन् । आफूले मनोनित गरेकाहरुलै नै आफ्नो आलोचना गरेको भन्दै उनले राजीनामा दिन चुनौतीसमेत दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेता पौडेलले पार्टीको सांगठनिक र राजनीतिक प्रतिवेदन संशोधनको माग गरे । नभए पास हुन नदिने उनको अडान छ ।
त्यसअघि बोलेका केन्द्रीय सदस्य गगन थापाले पनि चुनाव गराएको जस लिने तर, हारको समीक्षा नगर्ने, भ्रातृ संगठनको अधिवेशन गराएको गर्व गर्ने तर, लथालिंग भएको अवस्थाप्रति मौन बसेको भन्दै आपत्ति जनाएका थिए ।

पौडेलले पनि आम चुनावमा व्यहोरको हारको जिम्मेवारी पार्टी सभापतिले दिनुपर्ने उनको तर्क थियो । तर, पौडेलले त्यसो भनिरहँदा छेउमै बसेका सभापति देउवाले जवाफ दिए, ‘म त जितेर आएको छु, आफू हार्ने अनि मलाई भन्ने ?’

वरिष्ठ नेता पौडेलले भने जिल्ला सभापतिसमेत आफू जितेर पार्टी हार्दा जिम्मेवारी लिनुपर्नेमा केन्द्रीय सभापतिले अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाए । उनले तत्कालीन माओवादीलाई एमालेसँग छुटाएर ल्याएकामा गर्व गर्ने तर, दुबै दलले पार्टी एकता गरेकोबारे मौन बसेको भन्दै असन्तुष्टि जनाए ।

पौडेल बोलिरहँदा देउवाले ‘झुट बोल्ने’ भन्दै कड्किए । लगत्तै पार्टी सभापति देउवा बोले र ‘झुट बोल्ने मान्छेले कहिल्यै नेतृत्व गर्न सक्दैन’ भन्दै पौडेलमाथि खनिए । उनी आफ्नो आलोचकहरुविरुद्ध पनि आक्रामक देखिए ।

आफूले मनोनित गर्नेहरुले नै आफ्नो विरोध गरेको भन्दै पहिले राजीनामा दिन चुनौतीसमेत दिएका छन् । चुनावी हारको जिम्मा नलिने भन्दै उनले टिकट वितरण सबै बसेर गरेको भन्दै उनले भने, ‘म जितेर आएको छु, फेरि पनि जित्छु ।’

उनले आफूलाई गाली गर्न छाड्न आग्रह गरे । देउवाले वरिष्ठ नेता पौडेलले भाग खोेजेका कारण अनुशासन आयोग बन्न नसकेको बताए । केन्द्रीय सदस्य रामशरण महतले भाग खोजेको मात्र नभनौं, मेरिट पनि हेरौं भनेका थिए । ‘तपाईले भनेको मेरिट हुने, अरुले भनेको नहुने रु’ भन्दै देउवा उनीमाथि पनि खनिए ।

‘पार्टी सभापति देउवा अझै निकै आक्रामक र अभद्र शैलीमा प्रस्तुत हुनुुभयो’ एक केन्द्रीय सदस्यले भने ।

सहमति खोज्ने जिम्मा देउवा र पौडेललाई नै

पार्टी सभापति आक्रामक रुपमा प्रस्तुत भएपछि बैठकको माहौल सहमतितिर जान सकेन ।

वरिष्ठ नेता पौडेलले राजनीतिक र सांगठनिक प्रस्ताव परिर्माजन नभएसम्म स्वीकार नगर्ने अडान राखे । यसबारे सहमति खोज्ने जिम्मा देउवा र पौडेललाई दिइएको छ ।
सहमति नभए पनि वा नभए पनि भोलि ३ बजेको बैठकमा जानकारी दिने सहमति छ ।

शंकर र फर्मुलाहको जुहारी

बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले राजनीतिक प्रस्तावमा आफ्नो विरोध रहेको बताए । हिन्दु राष्ट्रको पक्षमा मत राख्दै आएका उनले राजनीतिक प्रस्तावमा रहेको धर्म निरपेक्षताको परिभाषा हटाउने पर्ने उनको माग थियो ।

तर, केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले काउन्टर दिए । एकातिर संविधान बनाएकोमा गर्व गर्दै कार्यान्वयनलाई जोड दिने, अर्कोतिर धर्म निरपेक्षता हटाउने माग गरेर जग हँसाउने काम नगर्न आग्रह गरेपछि भण्डारी चुप लागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *