अर्को पटकको बालोन डी’ओर मै जित्ने छु ः रोनाल्डो
इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीको बर्चस्व तोड्दै स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकले यस पटकको बालोन डी’ओरको अवार्ड हात पारे ।
यसअघि ब्राजिल तथा एसी मिलानका फरवार्ड काकाले सन् २००७ मा यो अवार्ड जितेपछि रोनाल्डो र मेस्सीले पालैपालो यो अवार्ड जित्दै आएका थिए । यस अवार्ड पछिल्लो १० वर्षमा रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए ।
सो अवार्ड समारोहमा पाँच पटकका विजेता रोनाल्डो भने दोस्रो भएका थिए । रोनाल्डोले ४ सय ७६ अंक प्राप्त गरेका थिए । मोड्रिकले ७ सय ५३ अंक पाउँदै उपाधि चुमेका थिए । र, यस पटक पनि अवार्ड यसपाली पनि रोनाल्डोले नै जित्नेमा रोनाल्डोका समर्थकहरु विश्वस्त थिए । तर, यस विषयमा यतिबेलासम्म मुख नखोलेका रोनाल्डोले बालोन डी ओरको मुख्य हकदार आफै भएको उल्लेख गरेका छन् ।
३३ वर्षीय रोनाल्डोले बालोन डी’ओर जित्न आफूले हरसम्भव प्रयास गरेको बताउँदै भनेका छन्, ‘नतिजाले म निराश नै भएँ । बालोन डी’ओर जित्न मैले धैरै नै प्रयास गरेको हुँ । यो कुरा तथ्यांकले पनि बोल्छ ।’
यस्तै उनले अब अर्को पटकको उपाधिका प्रयास गर्ने बताउँदै भनेका छन्, ‘मैले बालोन डी’ओर जित्न सकिँन । ठिक छ, म त्यसमा धेरै दुःखी छैन । म हाल उत्कृष्ट क्लबमा खेल्दैछु । र, मसँग उत्कृष्ट परिवार र साथीहरू छन् । म अर्को वर्ष यस अवार्ड जित्ने प्रयास गर्नेछु ।’
Facebook Comment