दुई तिहाइको सरकार असफल भयो : कमल थापा

डिसी नेपाल
३ पुष २०७५ १२:०६

नेपालगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अंगिकार गरेका एजेण्डाको महत्व अझ बढेर गएको बताएका छन्। विगतको चुनावमा एजेण्डाको कारण पार्टीको पराजय नभएको बताउँदै अध्यक्ष थापाले तत्कालिन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्यमा कांग्रेसले इमानदारिता नदेखाएको, पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको, पटक–पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको, संगठन कमजोर भएको तथा पर्याप्त साधन र श्रोत नभएको लगायतका कारणले पार्टीले पराजय भोग्नुपरेको दाबी गरे।

नेपालगञ्जमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विगतका त्रुटी र कमजोरीलाई सच्याएर अघि बढ्ने उद्घोष गर्दै यस्तो अवस्थामा राप्रपा चुप लाग्यो भने हिन्दुराष्ट्र र राजसंस्था सदाका लागि समाप्त हुने भएकोले जनताका घरदैलोमा पुगेर संगठन विस्तार गर्दै राप्रपातिर आकर्षित जनमतलाई भोटमा रुपान्तरण गर्न पार्टी दृढ भएर अगाडि बढिसकेको दाबी गरे।

परिवर्तनपछि देशले काँचुली नै फेर्छ भनेर विश्वस्त रहेका जनताको विश्वासमा तुषारापात भएको बताउँदै थापाले यो दोष कुनै पार्टी वा नेताको मात्र नभएर नीति र व्यवस्थाकै दोष भएको ठोकुवा गरे। गलत नीति र व्यवस्थालाई सुधार गर्न आवश्यक भैसकेकोले त्यसको नेतृत्व राप्रपाले गर्ने अध्यक्ष थापाले बताए।

हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुकेकाे भन्दै अध्यक्ष थापाले खुलेआम राष्ट्र विखण्डनको नारा लाग्दा होस्, निर्मला पन्त हत्या प्रकरणमा होस् वा ३३ किलो सुन प्रकरणमा होस्, दुई तिहाइको सरकारले कुनै ठोस कदम चाल्न नसकेको यथार्थले सरकार चौतर्फी असफल भएको पुष्टि भैसकेको अध्यक्ष थापाले जिकिर गरे।

पार्टीले अघि सारेका संगठन निर्माण, जन परिचालन तथा जनसंघर्षका कार्यक्रमलाई सफल पार्न सबै तहका नेता, कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न अध्यक्ष थापाले आग्रह गरे।

कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र लिङदेन, धवल शमसेर राणा, प्रेम बहादुर भण्डारी, गीता बस्नेत, नारायण बहादुर सिंह, महेश बहादुर सिंह, नरेन्द्र पौडेल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *